वडा स्तरबाटै सामाजिक सुरक्षा भत्ता र राजश्व सङ्कलनको व्यवस्था हुन्छ : नगरप्रमुख श्रेष्ठ

  • प्रकाशित मिति: शुक्रबार, असार ३१ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार र स्वरोजगारलाई प्राथमिकतामा राखेर नगरको विकासमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ । सुखी नेपाली सरकारको परिकल्पना पुरा गर्न र समृद्ध नगर बनाउँने परिकल्पनालाई सार्थक बनाउन शिक्षा क्षेत्रको सुधार अत्यावश्यक रहेकाले नगरपालिकाले आगामी कार्यक्रममा शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उहाँको भनाइ छ । नगरको शिक्षा क्षेत्रको सुधारका लागि अङ्ग्रेजी माध्ययमबाट पठनपाठन भैरहेका विद्यालयहरुलाई अझै व्यवस्थित बनाउने र अङ्ग्रेजी माध्ययमबाट पठनपाठन नभएका विद्यालयहरुमा आवश्यक जनशक्तिहरुको व्यवस्थापन गरी कक्षा एक बाटै अङ्ग्रेजी माध्ययमबाट पठनपाठन सञ्चालन गरिनेछ, उहाँले भन्नुभयो ।
नगरप्रमुख श्रेष्ठले नगरपािलकाको विभिन्न स्थानमा खेतीयोग्य जमिनमा घर बन्ने क्रम बढ्दो रहेकाले त्यस्ता जमिनहरुको पहिचान गरी खेतीयोग्य जमिनमा बस्ती बस्ने कुरालाई कम गर्दै लैजाने बताउनुभयो । मन्थली नगरपालिकाले सरकारले बनाएको अवधारणा अनुसार वडा तहबाटै खेतीयोग्य जमिन, घरघडेरी हुने जमिनको पहिचान तथा मुल्याङ्कन गर्छ, यसका लागि मालपोत कार्यालय र नापी कार्यालयसँग आवश्यक समन्वयन पनि गर्छ, खेतीयोग्य जमिनमा घर बन्ने र बस्ती बस्ने कुरालाई कम गर्दै लैजाने कुरामा नगरपालिका गम्भीर ढङ्गले लागेको छ उहाँले भन्नुभयो । मन्थली नगरपालिकामा सञ्चालनमा रहेको प्राविधिक शिक्षालयसँग आवश्यक समन्वय गरेर नगरभित्रका सबै १४ वटै वडाहरुलाई एक वडा एक कृषि उत्पादनका रुपमा विकास गरिने र सबै वडा तहबाट नै राजश्व सङ्कलनको व्यवस्थापन मिलाइने बताउनुभयो ।
आगमी वर्षबाट नगरभित्रका सबै वडा तहबाटै अनलाइन मार्फत राजश्व सङ्कलनको व्यवस्था मलाउन आवश्यक बजेटको पनि व्यवस्थापन गरिएको छ, यो सेवा सञ्चालनका लागि प्रत्येक वडामा एक जना कम्प्युटर अपरेटरको दरबन्दी सिर्जना गरिएको छ, अब साउन लाग्ने वित्तिकै यसको प्रक्रिया अगाडी बड्छ उहाँले भन्नुभयो । नगरप्रमुख श्रेष्ठले केही वडाहरुले विभिन्न बैङ्कसँग समन्वय गरी घर घरमै सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेकाले नागरिकको माग अनुसार अन्य वडाहरुमा पनि कम्तीमा वडा स्तरबाट सामाजिक सुरक्षा भत्ता प्रदानको व्यवस्था मिलाइने बताउनुभयो । मन्थली नगरपालिका–८ चिसापानीले विगत देखिनै घरघरमै सामाजिक सुरक्षा भक्ता प्रदान गरिरहेको छ, अन्य वडाहरुमा पनि वडा, नगरपालिका जमानी बसेरै भएपनि कम्तीमा वडा तहबाटै सामाजिक सुरक्षा भक्ता प्रदान गर्ने व्यवस्था मिलाइन्छ, यसका लागि विभिन्न बैङ्कहरुसँग कुरा भैरहेको छ, उहाँले भन्नुभयो ।