रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा निर्माणधिन १५ शैय्याको अस्पताल निर्माणको काम अहिले बन्द छ । यो अस्पतालको २०७९ मङ्सीर ३० गते निर्माण सम्पन्न गर्नेगरी २०७८ भदौ १० गते शिलान्यास गरिएको थियो ।
तर शिलन्यास भएको १० महिना कटिसक्दा पनि अस्पताल निर्माणको २० प्रतिशत पनि काम सम्पन्न नभएको स्थानीयको भनाइ छ । तत्कालित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला कार्यान्वयन एकाई (भवन) रामेछाप मार्फत ९ करोड, ३२ लाख, ५० हजार ९८६ रुपियाँ २०७८ जेठ ३० गते श्री गाल्वा÷लाल शुभ मेन्द्रो जेभी काठमाडौंसँग निर्माण सम्झौता भएको थियो ।
तर निर्माण सम्पन्न गर्नुपर्ने समय सिमा अब पाँच महिना मात्रै बाँकी रहदा अस्पताल निर्माण क्षेत्रमा वाल लगाउने र पिल्लरका लागि रड ठड्याउने बाहेक अरु काम भएको छैन । अस्पतालको समयमै निर्माण सम्पन्न गर्न ताकेता गर्दा पनि निर्माण व्यवसायीले नटेरेको मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लिलाराज पौडेलले बताउनुभयो । नागरिकको स्वास्थ्य सँग प्रत्यक्ष जोडिएको अस्पताल जस्तो संवेदनशिल कुराको निर्माणमा यस्तो ढिलाई गरेर निर्माण व्यवसायीले गैरजिम्मेवारी पन देखाएको उहाँले बताउनुभयो ।
मन्थली अस्पताल सहित अहिले जिल्लाका विभिन्न ठाउँमा गरी २१ वटा स्वास्थ्य संस्थाका भवनहरु निर्माणधिन अवस्थामा छन् । अहिले सघन सहरी तथा भवन निर्माण आयोजना रामेछाप मार्फत मन्थली नगरपालिका–१२ मा पाँच शैय्याको गेलु प्राथमिक अस्पताल निर्माण भैरहेको छ ।
२०७२ साल वैशाख १२ गते भूकम्प र त्यसपछिका पराकम्पले क्षति भएका जिल्लाको चिसापानी, चनखु, डडुवा,गौश्वरा, पिङ्खुरी, मझुवा, खाँडादेवी र खनीयापानी स्वास्थ्य चौकी निर्माणाधिन अवस्थामा छन् । त्यसैगरी भलुवाजोर, सालु, ओख्रेनी, रामपुर, देउराली, हिमगङ्गा, बिजुलीकोट, तिल्पुङ, दुरागाउँ, चुचुरे र कुवँुकास्थलीमा स्वास्थ्य चौकी भवन निर्माण भैरहेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार २० वटा स्वास्थ्य चौकी भवन भारतीय सरकारको अनुदान सहयोगमा र खाँडादेवी र देउराली स्वास्थ्य चौकी भवन नेपाल सरकारको लगानीमा निर्माण भैरहेको सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका प्रमुख सुरेशकुमार वाग्लेले बताउनुभयो । जिल्ला भर निर्माण भैरहेका २१ वटा स्वास्थ्य संस्थाको भवन निर्माणका लागि ४० करोड २० लाख रुपियाँ भन्दा बढी लगानी रहेको उहाँले बताउनुभयो ।जिल्लामा स्वास्थ्य संस्थाहरुको निर्माणको गतिमा आफु सन्तुष्ट नरहेको उहाँले बताउनुभयो ।
जिल्लामा निर्माण भैरहेको स्वास्थ्य संस्थाहरुको कामको गति चित्तबुझ्दो छैन, झन मन्थली अस्पताल निर्माणको काम सुस्त गतिमा छ, काम छिटो गर्न निर्माण कम्पनीहरुकालाई ताकेता गरेका छौँ उहाँले भन्नुभयो । उहाँका अनुसार खाँडादेवी र देउराली स्वास्थ्चौकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ भने मन्थली अस्पताल बाहेक अन्य स्वाथ्य चौकी निर्माणमा ६० प्रतिशत भौतिक प्रगति भएको छ । मन्थली अस्पतालको भने १५ देखि २० प्रतिशत मात्रै भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।