छोडेन असारे विकासले : हाकिम साहेबलाई मस्ती, चालक र यात्रीलाई सास्ती

  • प्रकाशित मिति: शुक्रबार, असार १७ २०७९
  • तामाकोशी

रामेछाप । असार लागेपछि मात्रै बल्ल विकासको काम गर्ने सरकारी निकायलाई कामको चटारो सुरु हुन्छ । निर्माण व्यवसायीलाई पनि असारमा काम नसके भुक्तानी नहुने भएपछि असारे कामको चटारोले छोप्छ ।असारे कामको चटारो प्राय सबै विकासको काम गर्ने सरकारी कार्यालयलाई हुन्छ । त्यसमा पनि सबैभन्दा बढी सडकको काम गर्ने सरकारी निकाय र ठेकेदारलाई हुन्छ । असारमा हतार हतार गर्दा गुणस्तरीय काम नहुने र काम नसकिँदै अधिकांश ठाउँमा बाढी पहिरोले क्षति पु¥याउने समस्या नियमित समस्या जस्तै बनिसकेको छ ।
अहिले रामेछाप सदरमुकाम मन्थली–सेलेघाट सडक खण्डको निर्माणको काममा त्यस्तै चटारो देखिन्छ । असारे विकासमा सडक डिभिजन कार्यालय खुर्कोटका हाकिम साहेबहरूलाई त मस्ती नै छ । तर सवारी चालक र यात्रीहरूले भने नराम्रो सास्ती खेप्नु परेको छ ।
यो सडकमा अहिले ठाउँ ठाउँमा कटिङ तथा जाली भर्ने काम भइरहेको छ । ठाउँ ठाउँमा सडकको नाला बनाउन तथा मेशिनरी वाल लगाउने काम पनि चलिरहेको छ । हिउँदभरि कुनै वास्ता नगर्ने कार्यालयलाई अहिले कामको चटारो छ । असारको बेलामा सडक निर्माणको काम हुँदा सडक चिप्लो र जोखिमपूर्ण हुने तथा काम भएको बेलामा घण्टौँ रोकिएर बस्नु पर्दा गन्तव्यमा पुग्न समेत समस्या हुने गरेको यात्रु सवारी चालकको गुनासो छ ।

 



लामो समयदेखि भत्काएर छाडिएको सडकमा असार लागेपछि काम थालिएकाले यात्रा गर्न निकै जोखिम रहेको मन्थलीका टेकबहादुर बोहरा बनाउनुहुन्छ । वर्षाको बेलामा बाटो हिलो बनाइएको छ, माटो थुपारिएको छ, चिप्लिएर गाडी खस्छ कि भन्ने डर हुन्छ उहाँले भन्नुभयो ।
भत्किएको लामो समयसम्म वास्ता केही नगर्ने र जब असार लाग्छ अनि हुने निर्माणको कामले सडकमा सारी चलाउन निकै समस्या भएको ओखलढुङ्गा लिखु गाउँपालिका–१ का सवारी चालक राजकुमार भुजेलले बताउनुभयो ।सडक डिभिजन कार्यालय खुर्कोट सिन्धुलीबाट समयमा नै कार्यादेश नआउँदा असारको बेलामा कामको चटारो भएको निर्माण व्यवसायी कर्णबहादुर माझी बताउनुहुन्छ । असारको बेल काम गर्दा काम गर्ने मान्छ पनि पाइदैन र काम पनि राम्रोसँग गर्न पाइदैन उहाँले भन्नुभयो ।कैलाश कन्स्ट्रक्सन, गढवारी निर्माण सेवा, सेतीदेवी निर्माण सेवा, दिनेश निर्माण सेवा लगायत विभिन्न निर्माण व्यवसायीलाई निर्माणको ठेक्का दिएको सो सडकको निर्माण कार्य असार २५ गतेसम्म सक्नु पर्ने सडक डिभिजन कार्यालय खुर्कोटका कामु डिभिजन प्रमुख लक्ष्मणदत्त जोशीले बताउनुभयो ।यो कार्यालय अन्तर्गत पटके मर्मतमा तीन वटा, विशेष मर्मतमा दुई वटा, राजमार्ग स्तरोन्नति तथा पुनर्स्थापना दुई वटा र ट्राफिक सुरक्षा अन्तर्गत दुई वटा निर्माणका काम चलिरहेका छन् । जसमा ४ करोड १६ लाख १६ हजार २३९ रुपियाँ रकम बिनियोजन भएको छ ।