रामेछापमा भूकम्पले भत्किएका ४५ हजार ७०० निजी घर बने

  • प्रकाशित मिति: बिहिबार, असार १६ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लामा हालसम्म भूकम्पले भत्किएका ४५ हजार बढी निजी घर बनेका छन् । २०७२ साल वैशाख १२, १३ र २९ गतेको भूकम्प र त्यसपछिका पराकम्पबाट जिल्लामा ५८ हजार १२८ निजि घर पूर्ण रुपमा क्षति भएका थिए ।
यसध्ये ५५ हजार ५२८ घर पुननिर्माणका लागि सम्झौता भएको थियो । सम्झौता भएका घरमध्ये हालसम्म ४५ हजार ७०० घरको पुननिर्माण सम्पन्न भई प्रमाणपत्र समेत वितरण गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना रामछापका इन्जिनियर प्रदिप कुवरले बताउनुभयो ।
उहाँका अनुसार लाभग्राही सूचिमा रहेको दुई हजार ६०० घर पुननिर्माणका लागि अझै सम्झौता हुन बाँकी नै छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका अनुसार पुननिर्माण लाभग्राही सूचिमा परेका ५५ हजार ४७७ घरले पहिलो किस्ता, ५१ हजार ३३८ घरले दोस्रो किस्ता र ४९ हजार १४४ घरले निर्माण सम्पन्न गरी तेस्रो किस्ता बापतको रकम बुझिसकेका छन् ।
जिल्लामा भूकम्पले क्षति गरेका दुई हजार ३६५ घर प्रवलिकरणका लागि लाभग्राही सूचिमा परेकोमा हालसम्म जम्मा १२ वटा घरले मात्रै घर प्रवलिकरण सम्पन्न गरी अन्तिम किस्ता रकम बुझेको सघन सहरी तथा भवन निर्माण आयोजना रामछापका इन्जिनियर कुवरले बताउनुभयो ।
भूकम्पले भत्कीर निर्माणका लागि सम्झौता भएका पाँच हजार ७८७ घरको नक्सा परिवर्तनका लागि पठाइएकोमा अहिलेसम्म पाँच हजार ५४५ घर परिवर्तन भएको र अझै २४२ घर परिवर्तन हुन बाँकी रहेको इन्जिनियर कुवरले बताउनुभयो । उहाँका अनुसार तीनपटक सर्भेक्षण भएर छुटेका चार हजार भन्दा बढी घरहरु पुनारावेदन गरेका छन् ।