मन्थली नगरपालिकाको बजेट एक अर्ब ४० करोड ७८ लाख बढी

  • प्रकाशित मिति: शुक्रबार, असार १० २०७९
  • तामाकोशी

रामेछाप । जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले क्रमागत आयोजनालाई निरन्तरता दिँदै ठुला तथा पूर्वाधार निर्माण, स्वास्थ्य, शिक्षा,कृषि तथा पशुपालन, विपद् व्यवस्थापन, लक्षित वर्ग कार्यक्रम, रोजगारी सिर्जना र सुशासनलाई मुख्य प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिकाले आगामी वर्षका लागि एक अर्ब ४० करोड ७८ लाखको बजेट सार्वजनिक गरेको छ ।
शुक्रबार नगरसभाको ११ औँ नगर अधिवेशनमा नगरप्रमुख लब श्रेष्ठले सार्वजनिक गर्नुभएको नीति तथा कार्यक्रममा एक वडा एक उत्पादन, विद्यालयमा सिक्दै कमाउदै र वडा स्तरबाट नै अनलाइन प्रविधिबाट व्यक्तिगत घटना दर्ताको व्यवस्था गरिने लगायतका कार्यक्रम समावेश गरिएको छ । एकीकृत सम्पत्ती करमा १० प्रतिशत कटौती गरी कर समायोजन गर्ने, नगरभित्र नै कृषि तथा पशु प्राविधिक जनशक्ति उत्पादन तथा परिचालनका लागि कृषि र भेटेरिनरी बिषयमा (डिप्लोमा) अध्ययनका लागि छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने, नगरपालिका भित्रका विद्यालयहरुमा कक्षा एक देखि नै गणित लगायतका प्रमुख बिषय अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्ने, विद्यार्थीसँग स्वास्थ्यकर्मी र किशोरीसँग नर्स कार्यक्रम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएको छ । नगरसभामा मन्थली नगरकी उपप्रमुख इश्वरी बस्नेतले एक अर्ब ४० करोड ७८ लाख ५३ हजार रुपियाँको बजेट प्रस्तुत गर्नुभएको छ । विनियोजित बजेटमध्ये चालुतर्फ ९६ करोड २७ लाख ३ हजार र पूँजीगत तर्फ ४४ करोड ५१ लाख ५० हजार रुपियाँ रहेको छ । बाँडफाँड गर्न मिल्ने ५६ करोड ८ लाख ११ हजार रकम विनियोजन गरिएकोमा चालुतर्फ २६ करोड २८ लाख ७१ हजार र पूँजीगततर्फ ३० करोड ५ लाख ५१ हजार रहेको छ ।