रामेछाप । रामेछाप नगरपालिकाकी उपप्रमुख बालाकुमारी कार्कीले जनचाहाना अनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचन मार्फत नेपाली काँग्रेसबाट निर्वाचित हुनुभएकी उपप्रमुख कार्कीले अबको पाँच वर्ष स्थानीय अदालतका रुपमा बनेको न्यायिक समितिको न्याय सम्पादनलाई थप प्रभावकारी बनाउँदै नगरपालिकाभित्र सञ्चालन हुने विकास निर्माणको कामहरुको प्रभावकारी अनुगन गर्न आवश्यक संयन्त्र निर्माण गरिने बताउनुभयो ।
यसका लागि नगरपालिका र जिल्लाका सरोकारवाला सबै निकायसँग सल्लाह, सुझाव र समन्वय गरेर अगाडी बढ्ने उहाँको भनाइ छ । नगरपालिकामा स्थानीय अदालका रुपमा स्थापना भएको न्यायिक समितिबाट सबै नागरिकलाई कसरी हुन्छ निष्पक्ष रुपमा न्याय दिलाउन सकिन्छ भन्ने मै बढी ध्यान केन्द्रीत हुनेछ, यसका लागि सबैको सल्लाह, सुझाव र समन्वयको पनि आवश्यक छ उहाँले भन्नुभयो ।
आफ्नो लागि यो विलकुलै नयाँ क्षेत्र भएकाले नागरिकका आवश्यकताका आधारमा काम गर्नका लागि सबैको सहयोग आवश्यक रहेको उहाँको भनाइ छ । निर्वाचन ताका नगरपालिकाभित्रका नागरिकसामु धेरै प्रतिबद्धताहरु व्यक्ति गरिएकाले ती प्रतिबद्धताहरु क्रमस पुरा गर्दै जाने उपप्रमुख कार्कीको भनाइ छ ।
अहिले रामेछाप नगरपालिका आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि नीति, कार्यक्रम र बजेट बनाउने क्रममा रहेकाले आवश्यक सुझावहरु दिन जिल्ला स्थित नागरिक समाजलाई पनि उहाँले आग्रह गर्नुभयो ।