अघिल्लो कार्यकालको अनुभवलाई पहिलो कडी मानेर जनताको अपेक्षा अनुसार काम गछौँ : उपाध्यक्ष बिष्ट

  • प्रकाशित मिति: मंगलबार, असार ७ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता बिष्ट चौलागाईले जनताको अपेक्षा अनुसार गाउँपालिकाको विकासमा काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचमा नेकपा माओवादी केन्द्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएकी उपाध्यक्ष बिष्टले अघिल्लो कार्यकालको अनुभवलाई पनि आत्मसाथ गरी गाउँपालिकाको विकासमा काम गर्ने बताउनुभयो । काम गर्ने चाहाना हुँदा हुँदै पनि अघिल्लो कामर्यकालमा गर्न नसकेका काम हरु अबको पाँच वार्षे कार्यकालमा पुरा गर्ने उहाँले प्रतिबद्धता जनाउनुभयो । जनताले भोट दिएर फेरी उपाध्यक्ष पदमा निर्वाचित गराएका छन्, यो कार्यकाल अघिल्लो कार्यकालमा गर्न बाँकी रहेका कामहरु पूरा गर्ने अवसर पनि हो, अब पनि हिजो जनतासमु गरिएको प्रतिबद्धताहरु अनुसार काम गर्न सकिएन भने जनताले माफी दिने ठाउँपनि छैन उहाँले भन्नुभयो ।

यसका लागि गाउँपालिकाका सबै राजनीतिक दल लगायत सरोकारवाला निकायसँग आवश्यक सल्लाह, सुझाव र समन्वय गरेर अगाडी बड्ने उपाध्यक्ष बिष्टले बताउनुभयो । सुनापति गाउँपालिकामा नागरिकको अपेक्षा अनुसार विकास गर्न अझै धेरै ऐन, कानुनहरु निर्माण गर्न बाँकी नै रहेकाले यो कार्यकालमा यसमा पनि गम्भीर ध्यान दिने उहाँको भनाइ छ । गाउँपालिकाको उपाध्यक्ष पद धेरै अबजस र अवसर मूलक पद भएकाले राम्रा नराम्रा ध्यानमा राखेर काम गर्ने उहाँले बताउनुभयो । स्थानीय अदालतका रुपमा गाउँपालिकामा स्थापना गरिएको न्यायिक समितिको काम थप प्रभावकारी बनाउने गरी काम गर्ने उहाँको प्रतिबद्धता छ । त्यसैगरी गाउँपालिका भित्र सञ्चालन हुने विकास निर्माणका कामलाई समयमै प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि गाउँपालिकाको अनुगमन संयन्त्रलाई पनि थप प्रभावकारी बनाइने उहाँको भनाइ छ ।