रामेछाप । जिल्ला समन्वय समिति रामेछापको निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । आइतबार मन्थलीमा सम्पन्न निर्वाचनमा नेपाली काँग्रेस– नेकपा माओवादी केन्द्रको गठबन्धनको प्यानल नै विजयी भएको हो । आठ वटा स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष गरी १६ जना मतदाता रहेको निर्वाचनमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए भने एमालेका उम्मेदवार एक्लै चुनाव लडेको थियो । प्रमुखमा गठबन्धनबाट काँग्रे्रेसकी चीना खड्का कार्की निर्वाचित हुनुभएको छ । त्यस्तै उपप्रमुखमा नेकपा माओवादी केन्द्रका प्रेमबहादुर थापा निर्वाचित हुनुभएको छ । सदस्यमा नेपाली कांग्रेसका बाबुलाल योन्जन, अनिषा माझी र वीरबहादुर कार्की निर्वाचित हुनुभएको छ । त्यस्तै माओवादीका हीराकुमारी गिरी, डम्बरकुमारी रसाइली, बिन्दा सार्की, बिक्रम थापामगर सदस्यमा निर्वाचित हुनुभएको छ । एमालेको ६ मत रहेकोमा अध्यक्षका उम्मेदवार तुलप्रसाद कँडेल लगायत सबै उम्मेदवारले ६ मत नै पाउनु भएको छ ।
जिल्ला समन्वय समितिको निर्वाचनमा एक मत हराएपछि गठबन्धनभित्र खैलाबैला भएको छ । कुल १६ मतदातामध्ये गठबन्धनमा काँग्रेसका ७ र माओवादीका ३ गरी १० मतदाता थिए । तर, प्रमुखकी उम्मेदवार चीना खड्का कार्कीले ९ मत मात्रै प्राप्त गर्नुभएको छ । यसपछि गठबन्धनभित्र खैलाबैला सुरु भएको हो । एमालेका तर्फबाट प्रमुखका उम्मेदवार कँडेलसहित सबै सदस्यको ६ मत आएको छ । एमालेको कुल मत नै यति मात्रै हो । तर, गठबन्धनको १० मत हुँदा उपप्रमुख सहित अरु सबै सदस्यले १०÷१० मत नै पाएर निर्वाचित हुँदा प्रमुखले भने ९ मत मात्रै प्राप्त गर्नुभएको छ । यस सम्बन्धमा काँग्रेस र माओवादीबीच कसका मतदाताले मत बदर गरे भनेर आरोप प्रत्यारोप सुरु भएको छ । यस विषयमा दुबै पार्टीका नेताले एक अर्कालाई शंका गरिरहदा कार्यकर्ताले भने छानबिनको माग गरेका छन् ।