मानव अधिकार संरक्षण सञ्जालद्वारा रामेछापका जनप्रतिनिधिहरु सम्मानित(कार्यक्रममा कसले के भने हेर्नुहोस्)

  • प्रकाशित मिति: आइतबार, जेष्ठ २९ २०७९
  • तामाकोशी

रामेछाप । लामो समयदेखि मानव अधिकारको क्षेत्रमा वहश, पैरवी, सहजिकरण र सरोकारवाला निकायलाई ध्यानाकर्षण गराउँदै आएको मानव अधिकार संरक्षण सञ्जाल रामेछापले निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको छ ।
आइतबार जिल्ला सदरमुकाम मन्थलीमा एक कार्यक्रमको आयोजना गरी सञ्जालले दुई नगरपालिका र ६ वटा गाउँपालिकाका प्रमुख र उपप्रमुखहरुलाई बधाई तथा सम्मान गरेको हो । नागरिक समाज पारस्पारिक जवाफदेहिता परियोजनाको सहयोगमा कार्यक्रम भएको हो ।
बधाई तथा सम्मान ग्रहण गर्दै मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले आफूहरु निर्वाचित भैसकेपछि अहिले मन्थली नगरपालिका पहिलो बजेट ल्याउने तयारीमा रहेको बताउनुभयो । उहाँले मानव अधिकार संरक्षण सञ्जाल लगायत जिल्लाको सारोकारवाला निकायसँग पर्याप्त छलफल तथा समन्वय गरेर नीति कार्यक्रम र बजेट बनाइने बताउनुभयो ।
रामेछाप नगरपालिका प्रमख लवश्री न्यौपानेले सबै वर्ग, सबै सुमदाय, सबै शक्तिलाई समेटेर आगामी वर्षको बजेट ल्याउने बताउनुभयो । उहाँले नगरपालिका अहिले नीति, कार्यक्रम र बजेट निर्माणको चरणमा रहेकाले आवश्यक सहयोग र सुझाव दिन मानव अधिकार संरक्षण सञ्जाललाई आग्रह गर्नुभयो ।
दोरम्बा सैलुङ गाउँपालिकाका अध्यक्ष मैनकुमार मोक्तानले समृद्ध र समुन्नत गाउँपालिका बनाउने गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो । अध्यक्षमा मोक्तानले गाउँपालिकाको सम्पूर्ण टीम नै कसरी हुन्छ गाउँपालिकालाई समृद्ध, समुन्नत बनाउँदै समाजवादको बाटोमा लैजाने योजनाका साथ काम गरिरहेको बताउनुभयो ।
उमाकुण्ड गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले यो पार्टी त्यो पार्टी नभनी सहकार्य, सहअस्तित्वको भावनाले जनचाहाना अनुसार गाउँपालिकाको विकासमा लाग्ने बताउनुभयो ।
गोकुलगंगा गाउँपालिका अध्यक्ष काजीबहादुर खड्का(दिनेश) ले मानव अधिकार संरक्षण सञ्जालको अनुभवहरु गाउँपालिकाको लागि आवश्यक रहेकाले आवश्यक सल्लाह, सुझाव र सहयोग गर्न सञ्जाललाई आग्रह गर्नुभयो ।
लिखुतामाकोसी गाउँपालिकाको अध्यक्ष केशव महतले मानव अधिकार जस्तो महत्वपूर्ण कुरालाई जोगाई राख्न गाउँपालिका प्रतिबद्ध रहेको बताउनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका उपप्रमुख ईश्वरी बस्नेत, रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्की, सुनापति गाउँपालिकाकी उपाध्यक्ष गीता विष्ट, दोरम्बा सैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगर, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनुवारले पनि आआफ्नो प्रतिवद्धता ब्यक्त गर्नुभयो । न्यायीक समिति र अनुगमनको कामलाई थप प्रभावकारी रुपमा अघि बढाउने कुरामा उहाँले जाड दिनुभयो ।
कार्यक्रममा सञ्जालका संयोजक पाण्डव प्रसाईँले स्थानीय सरकारका नीति निर्माणको लागि सञ्जालले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारलाई नीति र विधि बनाएर त्यही अनुसार चल्न आग्रह गर्नुभयो ।