रामेछाप । वातावरण संरक्षण परियोजा रामेछापले युवाहरुलाई वातावरणीय पैरवी तथा नेतृत्व विकास सम्बन्धी तालिम दिएको छ । परियोजनाले जिल्लाको मन्थली नगरपालिका र रामेछाप नगरपालिकामा बनाएको युवा क्लबका प्रतिनिधिहरुलाई सदरमुकाम मन्थलीमा मंगलबार तालिम प्रदान गरेको हो । तालिममा परियोजनाले बनाएको युवा क्लबका २० जना भन्दा बढी युवाहरुको सहभागिता रहेको थियो । युवाहरुलाई परियोजनाका व्यवस्थापक तथा सामुदायिक विकास समाज मन्थलीका कार्यकारी निर्देशक मिलन कुमार घिसिङ र प्रशिक्षक बिकास देव योन्जनले वायु प्रदूषण नियन्त्रणसम्बन्धी बेनेका नीतिनियम, त्यसको कार्यान्वयन र युवाहरुको नेतृत्व विकासका बारेमा जानकारी गराउनुभएको थियो । वातावरण संरक्षण परियोजनाले सन २०१९ फेब्रुअरीदेखि रामेछापको रामेछाप र मन्थली नगरपालिकाको विभिन्नवडाहरुमा वातावरण संरक्षणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । जर्मन संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय र तेर दे जोम्स जर्मनीको आर्थिक सहयोगमा सामुदायिक विकास समाज मन्थली, सृजनशिल यूवा समाज चिसापानी र सामुदायिक जनशक्ति विकास कार्यक्रम गोल्माटार मार्फत मन्थली नगरपालिका वडा नं १ देखि ६ र रामेछाप नगरपालिकाको वडा नं ७ देखि ९ सम्म वातावरण संरक्षणका लागि काम गरिरहेको छ । परियोजा मार्फत यी वडाहरुमा कृषि वन प्रर्धन, पानीको स्रोत, पोखरी, सिमसारको संरक्षण र भूक्षय रोकथाम , जैवीक विविधिताको संरक्षण र जलवायू परिवर्तनको प्रभावलाई न्यूनिकरणका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन भएका छन् ।
