रामेछाप । रामेछापका नवनिर्वाचित पालिका प्रमुखहरुले कृषि क्षेत्रको विकासमा जोड दिएका छन् । रामेछाप उद्योग बाणिज्य संघ, नेपाल पत्रकार महासंघ र जिल्ला सहकारी संघ रामेछापले आयोजना गरेको जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रममा बोल्दै पालिका प्रमुख तथा उपप्रमुखहरुले यस्तो कुरामा जोड दिएका हुन्। मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले समृद्ध मन्थली नगरपालिका बानउन आफुहरु लागि परेको बताउनुभएको छ । उहाँले जिल्ला सदरमुकाम समेत रहेको मन्थली नगरलाई समृद्ध बनाउनका लागि नगरपालिका विधि र पद्धती अनुसार चल्ने बताउनुभयो । उहाँले कृषिलाई प्राथमिकतामा राखेर मन्थली नगरपालिकाका राजनीतिक दल लगायत सरोकारवाला निकायसँग आवश्यक छलफल गरेर आगामी बजेट निर्माण गरिने बताउनुभयो । रामेछाप नगरपालिका प्रमुख लवश्री न्यौपानेले कृषि क्षेत्रको विकास नभै मुलुकको विकास नहुने बताउनुभयो । संसारकै सबै भन्दा सक्रिय र महत्वपूर्ण पेशा भनेको कृषि भएकाले यसमा कुनै राजनीति र खुरापातीका कुरा नभै कसरी हुन्छ उत्पादन वृद्धिमा लाग्नुपर्नेमा उहाँको जोड छ । किसानले उत्पादन गरेको कृषि उपजहरुको उसको लागतका आधारमा न्युनतम मुल्य निर्धारण गर्ने रामेछाप नगरपालिकाको लक्ष्य रहेको उहाँको भनाइ छ । रामेछाप जिल्ला मासुमा आत्मनिर्भर भैसकेकाले अब अन्य उपजहरुमा पनि आत्मनिर्भर मात्रै नभै निर्यात गर्नसक्नेगरी लाग्नुपर्ने उहाँले बताउनुभयो । खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले कृषि क्षेत्रको विकासका लागि सिँचाइ अत्यावश्यक भएकाले भटौली खोलामा ड्याम बाँधेर गाउँपालिकाको सुख्खा जमिनलाई हरियाली बनाउने योजना रहेको बताउनुभयो । यस कामका लागि संघ, प्रदश र पालिकाको बजेटले नपुगेको खण्डमा अन्य क्षेत्रको सहयोगमा अगाडी बढाइने उहाँको भनाइ छ । कृषि कहिलेपनि नाफामा जाने पेशा नभएकाले अहिले किसानलाई प्रदान गरिरहेको अनुदान कार्यक्रमले मुलुकलाई समृद्ध बनाउन नसक्ने भन्दै अध्यक्ष श्रेष्ठले अब मुलुकमा ठुला ठुला मेघा परियोजनाहरुको आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा लखिुतामाकोसी गाउँपालिका अध्यक्ष केशव महत, सुनापति गाउँपालिकाका अध्यक्ष ठुलोकान्छा तामाङ र उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्री सुनवारले बोल्नुभएको थियो । उहाँले पनि गाउँपालिकामा कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभएको छ ।
कृषि क्षेत्रको विकासमा रामेछापका पालिका प्रमुखहरुको जोड
- प्रकाशित मिति: आइतबार, जेष्ठ २२ २०७९
- तामाकोशी