रामेछाप । नेकपा एमाले रामेछापले पार्टी हित विपरितको आचरण देखाएको, स्थानीय निर्वाचनमा पार्टीका उम्मेदवारलाई हराउन भूमीका खेलेको भन्दै मन्थली नगर कमिटी सचिव राजु कार्कीलाई बर्खास्त गरेको छ । मन्थली नगरपालिका वडा नं ५ सुनारपानीको वडा अध्यक्षको टिकट नपाएपछि कार्की नेकपा एकिकृत समाजवादीका उम्मेदवार नबिन कार्कीलाई जिताउन लागेको र पार्टीले उम्मेदवार बनाएका गणेश कार्कीलाई चुनावमा हराउन खुलेयाम लागेर कम्युनिष्ट अनुशासन बाहिरको आचरण प्रदर्शन गरेपछि सचिव कार्कीलाई बर्खास्त गरिएको एमाले मन्थली नगर कमिटीले जनाएको छ । निर्वाचनमा घात गरेको भन्दै मन्थली नगरपालिका ५ नम्बर वडा कमिटी अध्यक्ष तेज बहादुर कार्की, एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका गणेश कार्की र वडा सदस्यका उम्मेवारहरु लगायत वडा कमिटीले कार्कीलाई तत्काल कारबाही गर्न पार्टीसँग माग गरेको थियो । वडा कमिटीले एमालेभित्र कुनै पनि हालतमा भविष्यमा समेत राजु कार्कीले जिम्मेवारी नपाउने गरी कारबाही गर्न माग गरेको छ । कार्कीकै कारण एमालेले अघि सारेका उम्मेदवारहरु झिनो मतान्तरले पराजित भएका थिए । उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न एमाले मन्थली नगर कमिटीले जिल्ला कमिटीलाई विधान अनुसार सिफारिस गरेको छ ।
एमाले मन्थली नगर कमिटीका सचिव राजु कार्की बर्खास्त
- प्रकाशित मिति: आइतबार, जेष्ठ १५ २०७९
- तामाकोशी