गैरसरकारी संस्थाहरुको संस्थागत क्षमताको विश्लेषण गरिने

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १२ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा सञ्चालित गैरसरकारी संस्थाहरुको संस्थागत क्षमताको विश्लेषण हुने भएको छ । मानव अधिकार संरक्षण सञ्जाल रामेछाप र गैरसरकारी संस्था महासंघ रामेछापको समन्वयमा मानव अधिकार सचेतन तथा विकास केन्द्र (हुराडेक) नेपाल दोलखाले रामेछापका केही गैरसरकारी संस्थाहरुको संस्थागत क्षमताको विश्लेषण गर्न लागेको हो ।
बिहीबार सदरमुकाम मन्थलीमा मानव अधिकार संरक्षण सञ्जालको समन्यमा हुराडेक दोलखाले नागरिक समाज संस्थाको संस्थागत क्षमताको विश्लेषण विषयक अन्तरत्रिया कार्यक्रम गरी यसबारेमा जानकारी दिएको हो ।
कार्यक्रममा हुराडेक दोलखाका कार्यक्रम संयोजक शेरबहादुर भुजेलले नेपालको आर्थिक, सामाजिक लगायतका हरेक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान रहेको गैरसरकारी संस्थाहरुको संस्थागत विकासमा सहयोग पुर्याउने उद्देश्यले ती संस्थाहरुको संस्थागत क्षमताको विश्लेषण गर्न लागिएको बताउनुभयो ।
यो कार्यक्रमको सुरुवातमा गैरसरकारी संस्था महासंघ र मानव अधिकार संरक्षण सञ्जालको समन्वय र आवश्यक सहयोगमा रामेछापमा सञ्चालित बढीमा तीनवटा गैरसरकारी संस्थाको संस्थागत क्षेमताको विश्लेषण गरिने उहाँको भनाई छ ।
उहाँका अनुसार संस्थाहरुले विधान अनुसार काम गरेको छकि छैन, नियमित नविकरण भएको छ या छैन, संस्थाहरुले आन्तरिक लेखा परीक्षण, सामाजिक परीक्षण र सार्वजनिक सुनुवाई गराएको छ या छैन र नियमित साधारणसभा गरेको छ या छैन लगायतका बारेमा विश्लेषण गरिने छ। कार्यक्रममा हुराडेक नेपाल दोलखाका सचिव जीवसराज खड्काले संस्थाहरुको संस्थागत क्षमताको विश्लेषण गर्दा गैरसरकारी संस्थाहरुको संस्थागत विकासमा सहयोग पुग्ने बताउनुभयो । कार्यक्रम मानव अधिकार संरक्षण सञ्जाल रामेछापका संयोजक पाण्डव प्रसाईको अध्यक्षतामा भएको हो ।