रामेछाप । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मन्थली नगर पार्टीको बैठक जारी छ । मन्थलीमा जारी बैठकले बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनका बारेमा समिक्षा गर्ने छ । समिक्षा बैठकमा संविधानसभा सदस्य तथा नेकपा माओवादी केन्द्र रामेछापका सचिव तारानारायण श्रेष्ठ लगायत मन्थली नगर कमिटीका पदाधिकारीहरुको सहभागिता छ । बैठकमा निर्वाचनमा पार्टीले गरेको अपेक्षा र प्राप्त परिणामका बारेमा नेताहरुले धारणा राख्ने क्रम जारी रहेको एक नेताले जनाकारी दिनुभयो । वैशाख ३० गते भएको स्थानीयत तह निर्वाचनमा पनि २०७४ को निर्वाचनमा जस्तै माओवादी जिल्लाको तेस्रो राजनीतिक शक्ति बनेको छ । अघिल्लो निर्वाचनमा दुई गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको माओवादी केन्द्रल यो निर्वाचनमा एक गाउँपालिकाको उपाध्यक्ष गुमाएको छ । अध्यक्ष र उपाध्यक्ष दुवै जितेको दोरम्बा सैलुङ गाउँपालिकामा नेपाली काँग्रेससँग गठबन्धन हुँदा उपाध्यक्ष काँग्रेसको भागमा परेपछि माओवादी केन्द्र अघिल्लो निर्वाचनको भन्दा कम सिटमा जित निकालेको छ । माओवादी केन्द्रले सुनापति गाउँपालिकाको अध्यक्ष, उपाध्यक्ष र दोरम्बा सैलुङ गाउँपालिकाको अध्यक्ष जितेको छ भने जिल्ला भर रहेका ६४ वडा मध्ये १५ वटा वडाको अध्यक्ष जितेको छ ।
