रामेछाप । दोलखाको मेलुङ गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएका हीरा थोकरले नागरिकका साना साना समस्या समाधान गर्ने गरी काम गर्ने बताउनुभएको छ । नागरिक साना साना समस्यामा अल्झिएकाले तिनै समस्या समाधन गर्नु आफ्नो मुख्य लक्ष भएको थोकर बताउनुभयो । गाउँ पालिकाको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा निक्कै समस्या भएको थोकरले अनुभव गर्नुभएको छ । त्यसैले पहिलो ध्यान प्रशासनीक भवन बनाउन दिने उहाँले बताउनुभयो । यस पछिको सडक सुधारको काम तत्काल गर्नु पर्ने काममा रहेको उहाँले बताउनुभयो । भएका सडकलाई बाह्रै महिना यातायात चल्न सक्ने बनाउन पाए नागरिकलाई आवागमनमा सहज हुने उहाँको भनाइ छ । यी बाहेक जनताको दैनिक जीवनसँग जोडिएका विषय नै आफ्नो प्राथमिकताको क्षेत्र रहेको थोकरले बतउनुभयो । सामुदायिक शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रको आधुनिकीकरण, पशुपालन, युवा स्वरोगजार लगायतका कार्यक्रमलाई प्राथमिकता दिने उहाँले बताउनुभयो ।
अहिले पनि महिला, अल्पसंख्यक, दलित समुदाय पछाडिनै पारिएकाले उहाँहरुको क्षमता विकास, आर्थिक र सामाजिक विकासको लागि काम गर्न आवश्यक रहेको उहाँको ठम्याइ छ । सामजिाक सुरक्षा, आर्थिक सशक्तिकरण, गरिबी निवाराण, रोजगारीका कार्यक्रमलाई पनि प्रभावकारी रुपमा सञ्चालन गर्न आवश्यक रहेको थोकर बताउनुहुन्छ । अहिले पनि कृषि निर्वाहमुखी नै भएकोले त्यसलाई केही सुधार गर्न सके युवालाई गाउँमा रोक्न सकिने उहाँको बुझाइ छ । आधुनिक खेती र पशुपालनको लागि स्थानीय सरकारले सहयोग गरेर युवालाई कृषिसँग जोड्ने उहाँको योजना छ । अन्य कुरा भन्दा पनि नागरिकको दैनिक जीवनसँग जोडिएको विषयलाई नै प्राथमिकतामा राखेर आफूले काम गर्ने उहाँले बताउनुभयो । यसको लागि सहज सेवा प्रवाह नै पहिलो कुरा भएको थोकरको भनाइ छ । सेवा प्रवाहलाई सहज र सरल बनाउने उहाँले बताउनुभयो ।
जनताको दैनिक जीवनसँग जोडिएका विषयलाई प्राथमिकता दिन्छु : मेलुङ गाउँपालिका अध्यक्ष थोकर
- प्रकाशित मिति: बुधबार, जेष्ठ ११ २०७९
- तामाकोशी