रामेछाप । रामेछापको मन्थली नगरपालिका वडा नं ९ पुरानागाउँका नवनिर्वाचित जनप्रतिनिधिहरुले कार्यभार सम्हालेका छन् । पुरानागाउँका वडा अध्यक्ष गोकर्णराज आरण सहित अन्य चार जना सदस्यहरुले सोमबार वडा कार्यालयमा आफ्नो कार्यभार सम्हालेका हुन् । कार्यभार सम्हाल्दै वडा अध्यक्ष आरणले वडाका आवश्यकताको पहिचान गरी नागरिकको मागमा आधारित भएर वडाको विकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले वडामा अहिलेसम्म भएका सडक पूर्वाधार लगायत भौतिक विकासको कामलाई थप व्यवस्थापन गरी अब वडा बासीको आर्थिक र सामाजिक विकासमा लाग्ने बताउनुभयो । नेपाली काँग्रेसका बुद्धिबहादुर पुलामी मगर र नेकपा माओवादी केन्द्रका मैतसिं योञ्जनलाई पराजित गर्दै एमालेका गोकर्णराज आरण वडा अध्यक्ष बन्नुभएको हो । वैशाख ३० गते भएको पलिका चुनाव २०७९ मा आरणले ५५० प्राप्त गर्दा पुलामी मगरले ५१६ र योञ्जनले ४६६ मत प्राप्त गर्नुभएको थियो । वडाको सदस्यहरुमा नेकपा एमालेबाट धनलाल तामाङ, रामबहादुर श्रेष्ठ, महिला सदस्यमा नेकपा माओवादी केन्द्रबाट हिराकुमारी गिरी र दलित महिला सदस्यमा एमालेबाट नन्दमाया कमिनी निर्वाचित हुनुभएको छ ।
