रामेछाप । जिल्लाको लिखुतामाकोसी गाउँपालिकाको बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेको छैन । निर्वाचनको मुखमा इलाका प्रहरी कार्यालय धोबीले नियन्त्रणमा लिएको १०३ बोरा रासायनिक मलको विषय अझै अन्योलमा छ । किसानलाई एमालेले मल बाँड्न ल्याएको भन्दै अवैध तरिकाले बिजुलीकोट पु¥याइएको युरिया डीएपी मल काँग्रेसका कार्यकर्ताले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । एमालेले मतदातालाई प्रभावित पार्न ल्याएको भनिएको मल काँग्रेस समर्थक व्यापारीले ल्याएको खुलेपछि प्रहरीले कारबाहीमा ढिलाइ गरेको एमालेको आरोप छ । सो मल ल्याउने व्यापारीले प्रहरीमा त्यसको बिल बुझाउन नसकेको कारण सामान छुटाउन सकेका छैनन् । प्रहरीले ट्रक चालक र सामान ल्याउने व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छैन । प्रहरी नियन्त्रणमा लिएको लिखुतामाकोसी गाउँपालिका वडा नं ७ का २० वर्षीय ट्रक चालक आकाश सुनुवारलाई समेत छाडिदिएको छ । गत वैशाख २६ गते बिना भ्याट बिलको युरिया ९३ बोरा र डीएपी १० बोरा सहितको प्रदेश ३–०१–००५ ख ९८५२ नम्बरको ट्रक प्रहरीले नियन्त्रण लिएको थियो । प्रहरीका अनुसार लिखुतामाकोसी–४ कोटगाउँका धनबहादुर तिमल्सिनाको मनिस स्टोर एण्ड सप्लायर्सको लागि सो मल ल्याएको खुलेको छ । इलाका प्रहरी कार्यालय धोबीका ईञ्जार्ज प्रहरी निरीक्षक जटाङ्कर यादवले रासायनिक मलको भ्याट बिल र अन्य कागजात नभएकाले आवश्यक कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने तयारी गरेको बताउनुभयो । मलका बिषयमा आवश्यक अनुशन्धान भैरहेको छ, निर्वाचनमा खटिएको कारण कारबाही प्रक्रियामा केही ढिलाइ भएको हो उहाँले भन्नुभयो ।
बिजुलीकोटमा प्रहरीले नियन्त्रणमा लिएको रासायनिक मलको अझै टुङ्गो लागेन, कारबाहीमा ढिलाइ
- प्रकाशित मिति: सोमबार, जेष्ठ ९ २०७९
- तामाकोशी