रामेछाप । जिल्लाको गोकुलगङ्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवारलाई पराजित गर्दै पालिका अध्यक्षमा काँग्रेसका काजीबहादुर खड्का (दिनेश) र उपाध्यक्षमा उषादेवी कार्की विजयी हुनुभएको हो । गाउँपालिका अध्यक्षमा निर्वाचित खड्काले ६ हजार ९३ मत ल्याउँदा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याउनुभएको छ ।
यस्तै उपाध्यक्षमा निर्वाचित काँग्रेसकी उषादेवी कार्कीले पाँच हजार २५३ पाउँदा उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेकपा एमालेका उम्मेदवार राधिका श्रेष्ठले चार हजार ६८६ मत प्राप्त गर्नुभएको छ ।
एमालेले यसअघि एक कार्यकाल निर्वाचित भएर काम गरिसकेका खड्गबहादुर सुनुवारलाई अध्यक्षमा र उपाध्यक्षमा राधिका श्रेष्ठलाई उम्मेदवार बनाएको थियो । तर, यो पटकको निर्वाचनमा दुवै जना पराजित हुनुभएको छ ।
२०७४ मा भएको स्थानीय तह निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष नै एमालेले जितेको थियो ।
गत निर्वाचनमा जितेकै आधारमा एमालेले बलिया उम्मेदवार भन्दै सुनुवार र श्रेष्ठलाई पुनः उम्मेदवार बनाएको थियो । छ वटा वडा रहेको गोकुलगङ्गा गाउँपालिकामा चार वटा वडाको वडा अध्यक्ष काँग्रेस र दुई वटा वडाको वडा अध्यक्ष एमालेले जितेको छ ।
गाउँपालिकाको वडा नं १ मा काँग्रेका छत्रबहादुर बस्नेत, वडा नं २ मा काँग्रेसकै सुन्दर कार्की, वडा नं ३ मा एमालेका नरविक्रम कार्की, वडा नं ४ मा काँग्रेसका रामचन्द्र बस्नेत, वडा नं ५ मा एमालेका दीपक कार्की र वडा नं ६ मा काँग्रेका चन्द्रबहादुर सुनुवार वडा अध्यक्षमा निर्वाचित हुनुभएको छ ।