रामेछाप । नेकपा एमाले रामेछापले जिल्लाको मन्थली नगरपालिका वडा नं ४ सालुमा चुनावी सभा गरेको छ । एमालले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित अभियान अन्र्तगत शनिबार सालुमा चुनावी सभा गरेको हो । सभामा नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुंगेल, वाग्मती प्रदेश सांसद शान्ति प्रसाद पौडेल लगायतका नेताहरुले सम्बोधन गर्नुभएको छ । कार्यक्रममा एमालेबाट मन्थली नगरपालिकाको मेयरका उम्मेदवार लब श्रेष्ठ, उपमेयरका उम्मेदवार ईश्वरी बस्नेतले मन्थली नगरपालिकालाई समृद्ध बनाउने योजना सुनाउँदै आफुहरुलाई भोट हाल्न मतदाताहरुलाई आग्रह गर्नुभएको छ । मेयरका उम्मेदवार श्रेष्ठले समृद्ध मन्थली नगर बनाउन आफुले जनभावना र आवश्यकताको पहिचान गरी तत्कालिक र दीर्घकालीन योजना बनाएको बताउनुभयो । उहाँले मन्थली नगरपालिकाभित्र प्रयाप्त मात्रामा पूर्वाधार विकास गरी सेवा प्रवाहको लागि प्रविधियुक्त पूर्वाधार निर्माण गर्ने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा एमाले केन्द्रीय सदस्य ढुंगेलले जनताको दुःख सुखमा साथ दिने पार्टी एमाले भएकोले निर्वाचनमा एमालेलाई साथ दिन आग्रह गर्नुभयो । केन्द्रीय सदस्य ढुङ्गेलले जनताले भोट दिएर एमालेलाई जिताए रोकिएका विकास निर्माणको काम एमालले अघि बढाउने बताउनुभयो ।
