रामेछाप । नेकपा एमालेका केन्द्रीय सदस्य माधव ढुङ्गेलले एमालेको सरकार नआएसम्म रोकिएको विकास अघि नबढ्ने बताउनुभएको छ । नेकपा एमाले रामेछाप नगर कमिटीले शुक्रबार वडा नं २ देउरालीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै नेता ढुङ्गेलले एमालेको सरकार आउने बित्तिकै रोकिएका सडक र अस्पताल निर्माणको काम अघि बढ्ने बताउनुभयो । नेकपा एमाले विपन्न र पछाडि पारिएका समुदायको विकासका लागि काम गर्ने पार्टी भएको ढुङ्गेलले बताउनुभयो । नेकपा एमालेले स्वच्छ प्रतिस्पर्धाबाट सर्वश्रेष्ठता हासिल गर्न चाहेको उहाँले बताउनुभयो । त्यसैले अन्य शक्तिले रोक्न चाहँदा चाहँदै पनि एमालेकै जोड बलले स्थानीय तह निर्वाचन हुने लागेको उहाँले दाबी गर्नुभयो । भारतले मिचेको भूभाग मेरो हो भन्ने आँट कसैलाई नभएको बेलामा त्यो हाम्रो भूमि हो भन्ने पहिलो व्यक्ति एमाले अध्यक्ष केपी शर्मा ओली भएको उहाँले बताउनुभयो । एमाले अध्यक्ष केपी ओली मरेको आकांक्षा जगाउने र देशको काँचुली फेर्ने नेता भएको उहाँले बताउनुभयो । केपी ओलीको यो अभियानलाई सफल बनाउन एमालेका उम्मेदवारलाई विजयी गराउन उहाँले अपिल गर्नुभयो । जनताको दुःख सुखमा साथ दिने पार्टी एमाले भएकोले निर्वाचनमा एमालेलाई साथ दिनु पर्ने उहाँले बताउनुभयो ।
एमालेको सरकार नआएसम्म रोकिएको विकास अघि बढ्दैन : माधव ढुङ्गेल
- प्रकाशित मिति: शुक्रबार, बैशाख २३ २०७९
- तामाकोशी