संचार प्रविधिमा कमजोर भएको मन्थलीका मेयर उम्मेदवारहरुको स्वीकारोक्ति

  • प्रकाशित मिति: सोमबार, बैशाख १९ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिमा मेयर पदका उम्मेदवार बन्नुभएका सबै राजनीतिक दलका उम्मेदवारहरूले आफूहरू सूचना र प्रविधिको उपयोगमा पछि रहेको स्वीकार गर्नुभएको छ । कम्प्युटर एसोसिएसन नेपाल क्यानले सोमबार जिल्ला सदरमुकाम मन्थलीमा सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा आयोजना गरेको स्थानीय विकासमा सूचना प्रविधिको भूमिका विषयक अन्तरक्रियामा सहभागी मेयरका उम्मेदवारहरूले सो विषयमा आफूहरू निक्कै पछाडि रहेको बताउनुभयो । अन्तरक्रियामा बोल्दै नेकपा एमालेको मेयरका उम्मेदवार लब श्रेष्ठले प्रविधि धेरै अघि बढेको भए पनि आफूहरू त्यसमा धेरै पछि रहेको बताउनुभयो । उहाँले विगतमा पनि सूचना र प्रविधिको ख्याल नगरेकै कारण नागरिकले सहजै पाउने सेवा लिन दुःख पाउनु परेको बताउनुभयो । उहाँले आफू मेयर निर्वाचित भएमा विज्ञको सहयोग र सल्लाह लिएर मन्थली नगरपालिकालाई सञ्चार प्रविधि मैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रविधिको शिक्षा प्राथमिक तहबाट नै दिएर प्रविधिमैत्री जनशक्ति उत्पादन गर्नुपर्ने पनि बताउनुभयो ।

नेपाली कांग्रेसबाट मेयर पदका उम्मेदवार विनोद कार्कीले सूचना र सञ्चार प्रविधिको प्रयोग नगरेसम्म सुशासन कायम गर्न नसकिने बताउनुभयो । आफू मेयर भएमा सञ्चार प्रविधिको प्रयोग गरी सुशासन कायम गर्न जोड दिने कार्कीले बताउनुभयो । कार्यक्रममा माओवादी केन्द्रका उम्मेदवार दीपक प्रसाईँले सबैभन्दा पहिला शिक्षक र शिक्षालयलाई प्रविधिमैत्री बनाउनुपर्ने बताउनुभयो । सूचना र सञ्चार प्रविधिको प्रयोग गरी नागरिकका धेरै काम गर्न सकिने भए पनि आफूहरू त्यसमा पछाडि परेको उहाँले बताउनुभयो । आफू निर्वाचित भएमा प्रविधिको ट्युसन कक्षा लिएर भने पनि प्रविधिको प्रयोग गर्ने र पालिकालाई पनि प्रविधिमैत्री बनाउने बताउनुभयो । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका उम्मेदवार मदन भुजेल तथा स्वतन्त्र उम्मेदवार यमबहादुर थापाले पनि सञ्चार प्रविधिमैत्री नगरपालिका बनाउने आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रम क्यानका अध्यक्ष निरज सापकोटाको अध्यक्षतामा भएको थियो ।