रामेछाप । रामेछापमा ६ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी परेको छ । जिल्लाको खाँडादेवी गाउँपालिकाका दुई जना, रामेछाप नगरपालिकाका तीन जना र लिखुतामाकोसी गाउँपालिकाका एक जना उम्मेदवारमाथि दाबी विरोधको उजुरी परेको सम्बन्धीत पालिकाका निर्वाचन अधिकृतहरुले जनाएका छन् । खाँडादेवी गाउँपालिका वडा नं ३ मा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार बनेका ज्ञानकुमार लामा र काँग्रेसबाट वडा अध्यक्षको उम्मेदवार बनेका शङ्करदास श्रेष्ठ विरुद्ध उपभोक्ता समितिमा बसेर हिसाब फरफार नगरेको भन्दै सोही वडामा एमालेबाट वडा अध्यक्षका उम्मेदवार बनेका केशबकुमार प्रधानले दाबी विरोधको उजुरी दिनुभएको खाँडादेवी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेब लम्सालले बताउनुभयो ।
त्यस्तै, रामेछाप नगरपालिका प्रमुखमा स्वतन्त्रबाट उम्मेदवार दर्ता गराउनुभएको रत्नबहादुर नेवार विरुद्ध नगरभित्र ठेक्कापट्टाको काम गरिरहेको भन्दै माओवादी केन्द्रबाट नगर प्रमुखको उम्मेदवार बन्नुभएका नरेशबाबु श्रेष्ठले दाबी विरोधको उजुरी दर्ता गराउनुभएको छ । त्यसैगरी रामेछाप नगरपालिका वडा नं ७ मा नेपाली काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्नुभएका समिर कार्की विरुद्ध एमालेबाट वडा अध्यक्षको उम्मेदवार बन्नु भएका ध्रुवकुमार बस्नेतले नगरभित्र ठेक्कापट्टाको काम गरिरहेको भन्दै दाबी विरोधको उजुरी दर्ता गर्नुभएको रामेछाप नगरपालिकाकी निर्वाचन अधिकृत गीता गुरुङले बताउनुभयो । उहाँका अनुसार रामेछाप नगरपालिका वडा नं १ मा एमालेबाट वडा सदस्यको उम्मेदवार बन्नुभएकी दीलकुमारी श्रेष्ठ विरुद्ध महिला स्वास्थ्य स्वयंसेवकबाट राजीनामा नगरी उम्मेदवार बनेको भन्दै काँग्रेसबाट महिला सदस्य उम्मेदवार बनेकी सुकुमाया श्रेष्ठले दाबी विरोधको उजुरी दर्ता गराउनुभएको छ ।
यस्तै, जिल्लाको लिखुतामाकोसी गाउँपालिका वडा नं ३ मा एमालेबाट वडाध्यक्षका उम्मेदवारी दर्ता गराउनुभएका राजकुमार खड्का विरुद्ध कर छलि गरेको भन्दै काँग्रेसबाट वडाध्यक्ष्को उम्मेदवार मन्नुभएका अनिल तामाङले दाबी विरोधको उजुरी दर्ता गराउनुभएको लिखुतामाकोसी गाउँपालिकाकी निर्वाचन अधिकृत तारादेवी महर्जनले बताउनुभयो । जिल्ला निर्वाचन कार्यालयका अनुसार दुई नगरपालिका र ६ वटा गाउँपालिकाको ६४ वडा रहेको रामेछापमा ३३६ पदको लागि एक हजार ३६९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
रामेछापमा ६ जना उम्मेदवार विरुद्ध दाबी विरोधको उजुरी
- प्रकाशित मिति: बुधबार, बैशाख १४ २०७९
- तामाकोशी