रामेछापमा माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल

  • प्रकाशित मिति: सोमबार, बैशाख १२ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा कांग्रेस बाहेक नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच चुनावी तालेमल गर्ने सहमति भएको छ । चुनावी तालमेल गर्न काग्रेसले नमानेपछि माओवादी र एकीकृत समाजवादीबीच चुनावी तालमेल गर्ने सहमति भएको हो । दुई दलबीच सिट बाँडफाँडमा समेत सहमति भएको छ । आठ पालिकामध्ये माओवादीले ६ वटा र एकीकृत समाजवादीले दुई वटा पालिका लिने सहमति भएको छ । माओवादीले मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, खाँडादेवी गाउँपालिका, लिखु तामाकोसी गाउँपालिका र उमाकुण्ड गाउँपालिका र एकीकृत समाजवादीले खाँडादेवी र गोकुलगंगा पाएको छ । माओवादीले मन्थली नगरपालिकामा तारानारायण श्रेष्ठ, रामेछाप नगरपालिकामा नरेशबाबु श्रेष्ठलाई नगर प्रमुखको उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी माओवादीले सुनापति गाउँपालिकामा ठूलो कान्छा तामाङ, दोरम्बा शैलुङ गाउँपालिकामा मैन कुमार मोक्तान, लिखु तामाकोसी गाउँपालिकामा रविन्द्र पौडेल र उमाकुण्ड गाउँपालिकामा अन्नत खड्कालाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । एकीकृत समाजवादीले खाँडादेवी गाउँपालिकामा प्रेम बहादुर तामाङ र गोकुलगंगा गाउँपालिकामा बलराम खड्लाई अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ ।