मन्थली नगरपालिका प्रमुख/उपप्रमुख र एक वडा अध्यक्षमा स्वतन्त्रबाट मनोनयन दर्ता

  • प्रकाशित मिति: आइतबार, बैशाख ११ २०७९
  • तामाकोशी

रामेछाप । जिल्लाको मन्थली नगरपालिकाको प्रमुखमा एक जना, उपप्रमुखमा एक जना र वडा अध्यक्षमा एक जनाले स्वतन्त्रबाट मनोनयन दर्ता गराएका छन् । रामेछापका मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टका अनुसार मन्थली नगरपालिका प्रमुखमा यमबहादुर थापा, उपप्रमुखमा सारदा बुढाथोकी र रामबहादुर बुढाथोकीले मन्थली नगरपालिका वडा नं १० चनखुको वडाध्यक्षमा स्वतन्त्रबाट मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै, यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका जिल्लाको खाँडादेवी गाउँपालिकाको अध्यक्ष पदमा दुई जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले तोकेको मनोनयन दर्ताको पहिलो दिन आइतबार अध्यक्ष पदका लागि दुई जनाले मनोनयन दर्ता गराएका हुन् । खाँडादेवी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव लम्सालका अनुसार मंगोल नेशनल अर्गनाइजेसनबाट अध्यक्षमा यमबहादुर मोक्तान र उपाध्यक्ष दीलमाया मोक्तानले मनोनयन दर्ता गराउनुभएको छ । त्यैगरी, गाउँपालिकाको अध्यक्ष पदका लागि नेकपा एमालेबाट ज्ञानकुमार श्रेष्ठ र उपाध्यक्षमा रमा घिसिङले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै गोकुलगंगा गाउँपालिकाका निर्वाचन अधिकृत रामप्रसाद पौडेलका अनुसार गाउँपालिका वडा नं ६ को वडा अध्यक्षका लागि स्वतन्त्रबाट एकजनाले मनोनयन दर्ता गराएको छ । जिल्लाको ६४ वडाअध्यक्ष र सदस्यसहित ३२० जना र आठ स्थानीय तहको प्रमुख उप्रमुख १६ जना गरी ३३६ पदमा निर्वाचन हुनेछ ।