खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङ एकीकृत समाजवादीमा प्रवेश

  • प्रकाशित मिति: शनिबार, बैशाख १० २०७९
  • तामाकोशी

रामेछाप । रामेछापको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङ नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नुभएको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको एक दिनअघि उहाँ एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको हो । गाउँपालिका अध्यक्ष तामाङले शनिबार पत्रकार सम्मेलन गरी नेकपा एसमा प्रवेश गर्नुभएको हो । तामाङ पुनः गाउँपालिका अध्यक्षमा दोहोरिने तयारी गरेपनि एमालेले ज्ञानकुमार श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेपछि शुक्रबार गाउँपालिका अध्यक्षबाट राजनामा दिएर तामाङ स्वतन्त्रबाट निर्वाचन लड्ने तयारी गर्नुभएको थियो ।
यस बीचमा समाजवादीका रामेछाप इन्चार्ज देवशंकर पौडेल र पोलिटव्युरो सदस्य होम बहादुर बुढाथोकीले तामाङलाई भेटेर पालिका अध्यक्षमा टिकट दिने वचन दिनुभएको थियो । अध्यक्ष तामाङले आइतबार पुनः खाँडादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दर्ता गर्ने बताइएको छ । गाउँपालिका अध्यक्ष तामाङले निर्वाचन आचारसंहिता २०७८ को परिच्छेद ९ को बुँदा नं ३६ भएको व्यवस्था अनुसार वैशाख ११ गते आइतबारदेखि लागु हुने गरी गाउँपालिकाको अध्यक्षबाट राजीनामा दिनुभएको थियो । गाउँपालिका उपाध्यक्ष समक्ष अध्यक्ष पदबाट राजीनामा दिएपछि अध्यक्ष तामाङले पुनः पालिका अध्यक्ष बन्न स्वतन्त्रबाट भनेपनि उम्मेदवारी दिन सक्ने बताउनुभएको थियो । तामाङ २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रका शिव खड्कालाई हराउँदै गाँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।