रामेछापमा सत्ता गठबन्धनको च्याप्टर क्लोज

  • प्रकाशित मिति: बुधबार, बैशाख ७ २०७९
  • तामाकोशी

रामेछाप । रामेछापमा सत्ता गठबन्धनबीच तालमेल गरेर चुनावमा जाने बिषयको च्याप्टर क्लोज भएको छ । जिल्लामा सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र आआफ्नो अडानबाट पछि नहटेपछि गठबन्धनको च्याप्टर क्लोज भएको हो । आफुहरुले गठबन्धनका लागि हदैसम्मको लचकता देखाउँदा पनि माओवादी केन्द्रले वातावरण नबनाएका कारण गठबन्धनको च्याप्टर क्लोज भएको नेपाली काँग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले बताउनुभयो । नेपाली काँग्रेस रामेछापका उसभापति कार्कीले रामेछाप जिल्लामा अनौपचारिक भेटघाट भैरहेको भएपनि माओवादीका कारण गठबन्धनको च्याप्टर क्लोच भएको बताउनुभयो । उहाँले माओवादीको अनावश्यक मागको कारण सत्ता गठबन्धन हुन नसकेको बताउदै अब कांग्रेस आफ्नै ढंगले चुनावमा होमिने बताउनुभयो । उपसभापति कार्कीले गठबन्धनका लागि नेपाली काँग्रेसले हदैसम्मको लचकता देखाएको भएपनि माओवादी केन्द्रले थोरै पनि लचकता देखाउन नसकेको बताउनुभयो । माओवादी केन्द्रले सहमति विपरित एकलौटी ढंगले मन्थली माध्यामिक विद्यालयको अध्यक्ष घोषणा गरेको कुरालाई इङ्गीत गर्दै यस्ता कुरालाई जाबो र साना कुरा भन्दै माओवादीले वातावरण बिगारेको उपसभापति कार्कीको भनाइ छ । काँग्रेस रामेछापले केही दिनभित्र नै जिल्लाको ८ स्थानीय तह र ६४ वटाकै वडा अध्यक्षको उम्मेदवार टुंगो लगाएर गाउँगाउँमा चुनावी अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।