रामेछाप । जिल्लाका ४२ हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । आर्थिक अवस्था कमजोर भएका नागरिकलाई स्वास्थ्यको मूल प्रवाहमा ल्याउने उद्देश्यले सरकारले सामाजिक स्वाथ्य विकास समिति मार्फत ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाका ४२ हजार ४५५ जना आवद्ध भएका छन् । दुई नगरपालिका र छ वटा गाउँपालिकाको ६४ वडा रहेको जिल्लाका हालसम्म २२ हजार ३६७ महिला र २० हजार ८६ पुरुषले स्वास्थ्य बीमा गराएको स्वास्थ्य बीमा बोर्ड रामेछापका दर्ता अधिकारी यज्ञराज ढुङ्गेलले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सबैभन्दा बढि मन्थली नगरपालिकाबाट १३ हजार ३९३ जना र सबै भन्दा कम उमाकुण्ड गाउँपालिकाबाट दुई हजार ३७४ जनाले स्वास्थ्य बीमा गराएका छन् । जिल्लाको रामेछाप नगरपालिकाबाट ४ हजार ७७१ जना ,सुनापति गाउँपालिबाट ८ हजार ४८३ जना, लिखुतामाकोशी गाउँपालिकाबाट दुई हजार ३ हजार ११, खाँडादेवी गाउँपालिबाट ३९७८ जना नागरिकले स्वास्थ्य बीमा गराएका छन् । त्यस्तै, गोकुलगङ्गा गाउँपालिकाका दुई हजार ८५२ र दोरम्बा गाउँपालिकाका तीन हजार ५९४ जना नागरिकले स्वास्थ्य बीमा गराएको दर्ता अधिकारी ढुङ्गेलले बताउनुभयो ।
उहाँका अनुसार हाल सम्म पाँच हजार ६ हजार २६१ जना ७० बर्ष कटेका ज्येष्ठ नागरीकहरुले स्वास्थ्य बीमा गराएका छन् । ४६० पुर्ण अशक्त अपाङ्गता भएका घर परिवार र अति गरिबि तथा रातो कार्ड प्राप्त गर्ने ७ हजार ८६८ घरपरिवारले स्वास्थ्य बीमा गराएका छन् । स्वास्थ्य बीमा गराएका नागरिकहरुले जिल्ला अस्पताल रामेछाप,मन्थली ,गेलु र खिम्ति प्राथमीक स्वास्थ्य केन्द्र ,जिल्ला आँखा केन्द्र,तामाकोसी अस्पताल मन्थली र धुलिखेल अस्पतालबाट स्वास्थ्य सेवा लिन सक्नेछन् । स्वास्थ्य विमामा आवद्ध हुनको लागि पाँच जनासम्म सदस्य रहेको परिवारले वार्षिक तीन हजार ५०० सय र पाँच जनाभन्दा माथिको सङ्ख्या भएमा प्रति सदस्य सात सय रुपियाँ थप शुल्क तिर्नुपर्छ । रामेछापमा २०७४ सालको पौष अन्तिम साताबाट स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन भएको हो ।