नयाँ वर्षबाट सञ्चालन हुने भनिएको तीनलाल पार्कको काम सकिएन

  • प्रकाशित मिति: बिहिबार, बैशाख १ २०७९
  • तामाकोशी

रामेछाप । नयाँ वर्षबाट सञ्चालनमा आउँने भनिएको मन्थली नगरपालिकाको गौरवको आयोजना स्वीमिङ पुल सहितको तीनलाल स्मृति पर्यटकीय पार्क निर्माणको काम अझै सकिएको छैन । मन्थली नगरपालिका वडा नं १ हाटेचौरमा गत आर्थिक वर्ष २०७७÷०७८ को भदौबाट निर्माण सुरु गरिएको यो पार्क कोरोनाका कारण थप गरिएको समय सहित चालु आर्थिक वर्षको चैत मसान्तसम्म सम्पन्न गर्नुपर्ने हो ।
तर पार्कको पूर्ण रुपमा काम सम्पन्न नहँुदा मन्थली नगरपालिकाले आफ्नो गौरवको आयोजनाका रुपमा लिएको तीनलाल स्मृति पर्यटकीय पार्क समयमै सञ्चालन गर्न सकेन । अहिलेसम्म पार्कको ९० प्रतिशत काम सम्पन्न भएको मन्थली नगरपालिका प्राविधिक शाखा प्रमुख डिल्ली अधिकारीले बताउनुभयो । नगरपालिकाले गौरवको आयोजनाका रुपमा निर्माण गरिरहेको पार्कको करिव÷करिव काम सकिएको छ, अब स्वीमिङ पुलको केही टेक्निकल काम र वाइरिङको काम बाँकी छ उहाँले भन्नुभयो ।
दश करोड रुपियाँको प्राविधिक स्टमेट गरिए पनि छ करोड ८८ लाखमा रुपियाँमा ठेक्का सम्झौतामा पाँच पोखरी कन्ट्रक्शनले पार्कको निर्माण गरिरहेको छ । प्राविधिक शाखा प्रमुख अधिकारीका अनुसार यो पार्कका लागि मन्थली नगरपालिकाको चार करोड रुपियाँ र सङ्घीय सरकारको दुई करोड ८८ लाख रुपियाँ लगानी छ ।
पार्कमा तीन वटा स्वीमिङ पुल, सभा हल, प्रशासनीय भवन, चेन्जिङ रुम, चमेनागृह लगायतका संरचना बनेका छन् । एकै पटक तीस जना भन्दा बढीले स्वीमिङ गर्न सक्नेगरी महिला पुरुष र बालबालिकाका लागि छुट्टा छुट्टै स्वीमिङ पुल निर्माण गरिएको छ । यो पार्क ११ सय वर्गमिटरमा फैलिएको छ । यो आयोजना १५ महिनामा काम सक्नुपर्ने भएपनि कोरोना भाइरसका कारण समय लागेको निर्माण कम्पनी पाँच पोखरी कन्ट्रक्शनका साईड इन्चार्ज जोनसोन कार्कीले बताउनुभयो । बन्नु पर्ने सवै संरचनाहरु बनिसकेका छन्, अब फिनसिङ,वाइरिङ लगायतका काम भैरहेको छ उहाँले भन्नुभयो ।
मन्थली नगरपालिकाका नगरप्रमुख रमेश कुमार वस्नेतले नगरपालिकाको गौरवको आयोजनाका रुपमा निर्माण गरेको स्वीमिङ पुल सहितको तीनलाल स्मृति पार्क नगरपालिकाको नमूना आयोजना भएको बताउनुभयो ।
सङ्घीय सरकार र नगरपालिकाको संयुक्त आयोजना हो, विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ का कारण पार्क निर्माणको काम सम्पन्न गर्न अझै केही समय लाग्ने भयो नगरप्रमुख बस्नेतले भन्नुभयो ।