रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा रहेको बसपार्क समयमै आवश्यक मर्मत सम्भार हुँन नसक्दा अस्तव्यस्त बनेको छ ।
मन्थली नगरपालिका वडा नं १ मा रहेको बसपार्क भित्रका खाल्डा खुल्डी मर्मतका लागि सुरु गरिएको काम पनि अहिले रोकिएको छ । जसका कारण सवारी साधनहरुको पार्किङमा समस्या त भएकै छ होटल व्यवसायी र अन्य ब्यापारीको ब्यापार समेत घटेको छ ।
समयमै मर्मतको काम नसकिदा मन्थली बसपार्क अस्तव्यस्त बनेको चालक कुमार खत्रीले बताउनुभयो । गत वषैदेखि नै अस्तव्यस्त बनेको बसपार्क निर्माणमा सरोकारवाला निकायले खासै चासो नदिएको चालक कार्कीको भनाइ छ ।
मन्थली बसपार्कमा दिनहु ३० देखि ४० ओटा बसहरु पार्किङ हुने गरेका छन । दैनिक जस्तो बर्सपाकमा उड्ने धुलो, धुवाँ र हिलोका कारण ब्यवसायमा समेत असर परेको होटल ब्यवसायी मानबहादुर आलेले बताउनुभयो ।
सहरी विकास तथा भवन सिन्धुली मार्फत लुमिनस कन्ट्रक्शनले अहिले ३३ लाख रुपियाँ बजेटमा चालु आर्थिक वर्षका अन्त्यसम्म काम सम्पन्न गरिसक्ने सम्झौता अनुसार बसपार्क निर्माणको काम गरिरहेको छ । डण्डी लगायतका निर्माण सामाग्रीहरुमा ५० प्रतिशत भन्दा बढीले मुल्य वृद्धि भएकाले तत्काललाई निर्माणको काम रोकेको लुमिनस कन्ट्रक्शनका सञ्चालक रोशन श्रेष्ठले बताउनुभयो ।
बिभिन्न ठाउँबाट जिल्ला आएका मानिसहरु सबैभन्दा पहिले बसपार्कमा ओर्लने भएकोले उनिहरुको नजर सबैभन्दा पहिले बसपार्कको अवस्थाप्रति जादा लाजमर्दाे अवस्था सिर्जन भएकाले समय अगावै काम सम्पन्न गर्नका लागि ताकिता गर्ने जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले बताउनुभयो ।

