रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिका उपाध्यक्ष राधिका श्रेष्ठ (नेवार)ले गाउँपालिकामा ५ लाख रुपैयाँमा २ लाख खर्चगरी ३ लाख रुपैयाँ बजेट उपाध्यक्षले आफन्तलाई बाढेको भनेर केही सञ्चार माध्ययममा आएको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताउनुभएको छ । शुक्रबार एक प्रेस विज्ञप्ति मार्फत उपाध्यक्ष श्रेष्ठले निर्वाचित भएको झण्डै ५ वर्षको अवधिमा आफुले कुनै गलत काम नगरेको दाबी गर्दै जनतालाई हानी नोक्सानी हुने कुनै गलत काम गरेको सबुत प्रमाण ल्याएको खण्डमा जस्तोसुकै सजाय भोग्न आफु तयार रहेको बताउनुभएको छ । उपाध्यक्ष श्रेष्ठले प्रेस विज्ञप्ति मार्फत आफ्नो चरित्र हत्या गर्ने उद्देश्यले झुटा र कपोकल्पित समाचार आएको बताउनुभएको छ । ३ लाख रुपैयाँ रकम उपाध्यक्षले आफन्तलाई बाँढेको भनेर आएको समाचार सम्पूर्ण रुपमा असत्य र भ्रामक रहेको भन्दै यो समाचारमा विश्वास नगर्न गाउँपालिकाका नागरिकलाई आग्रह गर्नुभएको छ । यसअघि विहीबार गोकुलगंगा गाउँपालिकाकी उपाध्यक्ष श्रेष्ठले गाउँपालिकाले महिला हिंसा तथा घरेलु हिंसाविरुद्ध प्रशिक्षण तथा जनचेतना मूलक कार्यक्रमका लागि छुट्याइएको ५ लाख बजेटबाट २ दिने कार्यक्रममा २ लाख खर्च गरेर बाँकी रहेको ३ लाख रुपैयाँ पैसा आफ्ना नजिकमा रहेको महिलाहरुलाई बाँडेको भनेर केही सञ्चारमाध्ययमा समाचार आएको थियो ।
