रामेछाप । जिल्ला सदरमुकाम मन्थलीमा साना होटल तथा लज व्यवस्थापन तालिम शुक्रबारबाट सुरु भएको छ । शनिबारसम्म सञ्चालन हुने तालिमको वाग्मती प्रदेशका पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री शान्तिप्रसाद पौडेलले उद्घाटन गर्नुभएको छ ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल वाग्मती प्रदेशको संयोजन र रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घको सहकार्यमा नेपाल पर्यटन वोर्ड तथा होटल व्यवसायी महासङ्घ नेपालले आयोजना गरेको तालिममा रामेछाप सहित चार जिल्लाका होटल व्यवसायी तथा कर्मचारीहरु सहभागि भएका छन् ।
तालिममा रामेछाप, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका होटल व्यवसायी तथा कर्मचारीहरुको सहभागिता रहेको रामेछाप होटल तथा पर्यटन व्यवसायी सङ्घका अध्यक्ष शेखरमान श्रेष्ठले बताउनुभयो । तालिमको उद्घाटन गर्दै वाग्मती प्रदेशका पूर्वमन्त्री पौडेलले पर्यटन विकासका लागि होटल व्यवसायको सबैभन्दा अहम भूमिका रहने बताउनुभयो । देशलाई आर्थिक रूपमा बलियो बनाउन नीजि क्षेत्रको ठुलो भूमिका हुने भन्दै उहाँले होटल र पर्यटनको विकास गरेर धेरै भन्दा धेरै रोजगारी सिर्जना गर्न सकेमा देशमा देखिएको आर्थिक सङ्कटको समाधान गर्न सकिने बताउनुभयो ।
मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले राम्रो खाना र आतिथ्यता पर्यटनका लागि अपरिहार्य आवश्यकता भएकाले होटल व्यवसायीहरूले तालिमबाट अधिकतम फाइदा लिन सक्ने विश्वास व्यक्तगर्नुभयो । उहाँले जिल्लामा रहेका होटलहरुको व्यवस्थाप र विकासका लागि वर्गिकरण गरेर दररेटमा एकरुपता कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सेवा र व्यवहारले पर्यटकलाई आकिर्षत गर्न सकिने बताउँदै उहाँले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।
होटल तथा पर्यटन व्यवसायी सङ्घ नेपाल वाग्मती प्रदेशका अध्यक्ष सन्तोष उप्रेतीले रामेछाप, दोलखा, सिन्धुली र सिन्धुपाल्चोकमा पर्यटकीय विकासमा सहयोग पु¥याउने लक्ष्यका साथ होटल व्यवसायमा क्रियाशिल व्यवसायीको क्षमता अभिबृद्धिका साथै उनीहरूलाई होटल व्यवस्थापन एवम् आतिथ्यता सम्बन्धमा प्राविधिक एवम् व्यवहारिक पक्ष बारे जानकारी दिन तालिम आयोजना गरिएको बताउनुभयो ।
