रामेछाप नगरपालिकामा काँग्रेस गठबन्धन नगरी चुनाव लड्ने

  • प्रकाशित मिति: बिहिबार, चैत्र २४ २०७८
  • तामाकोशी

रामेछाप । नेपाली काँग्रेस रामेछाप नगर कार्यसमितिले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको छ । बुधबार बसेको नगर कार्य समितिको बैठकले स्थानीय तहको निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगरी एक्लै चुनाव लड्ने निर्णय गरेको हो । अन्य पार्टीहरुसँग गठबन्धन र तालमेल गर्दा आफैँलाई घाटा हुने निष्कर्ष निकाल्नै काँग्रेस रामेछाप नगर कार्यसमितिले कुनै पनि हालतमा गठबन्धन नगर्ने निर्णय गरेको हो । नेपाली काँग्रेस रामेछाप नगर कार्यसमितिका प्रवक्ता हरिचन्द्र घिमिरेले गठबन्धन हुँदा कम्युनिष्टहरुले काँग्रेसका उम्मेदवारलाई भोट दिने बलियो आधार नभएको, वडा तहमा रहेका माओवादीका मतदाताहरुले एमालेलाई नै भोट दिने प्रष्ट देखिएको निष्कर्षसहित गठबन्धन नगर्ने निर्णय गरिएको बताउनुभयो । यदि काँग्रस केन्द्रीय कार्यसमित तथा जिल्ला कार्यसमितीले गठबन्धन गर्न बाध्य पारेमा वा जबरजस्ति गठबन्धन गरेमा पार्टीको १४ औँ महाधिवेशनबाट नगर कार्यसमितिमा निर्वाचित सबै पदाधिकारीहरुले सामूहिक रुपमा संयुक्त राजिनामा दिने निर्णय पनि बैठकले गरेको छ ।