पत्रकार धमलाले उडान सुरक्षा विपरीतका क्रियाकलाप गरेको भन्दै वायु सेवा सञ्चालक सङ्घको कडा आपत्ति

  • प्रकाशित मिति: बुधबार, चैत्र २३ २०७८
  • तामाकोशी

काठमाण्डौ । वायु सेवा सञ्चालक सङ्घ नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा जहाजमा पत्रकार ऋषि धमलाले उडान सुरक्षामा नै असर पुग्ने क्रियाकलाप गरेको भन्दै आपत्ति जनाएको छ ।

भीभीआईपी सवार उडानमा असभ्य र उडान सुरक्षामा गम्भीर असर पर्ने असंवेदनशील व्यवहार देखाएको भन्दै सङ्घले आपत्ति जनाएको हो । धमलाको नाम उल्लेख नगरि सङ्घले भनेको छ, ‘उडानका क्रममा अपनाउनुपर्ने नियमलाई समेत उल्लङ्घन गर्दै निषेधित कक्षमा क्यामेरासहित प्रवेश गरी अमर्यादित व्यवहार देखाउनु दुर्भाग्यपूर्ण रहेको सङ्घको ठहर छ’, विज्ञप्तिमा भनिएको छ ।



यस्ता हर्कतले उडानको साथै भीभीआईपी प्रोटोकलको समेत उल्लङ्घन भएको भन्दै सङ्घले अवाञ्छित कार्य नगर्न र नगराउन आग्रह पनि गरेको छ । यसअघि प्रेस काउन्सिल नेपालले जहाजभित्र अमर्यादित र असभ्य क्रियाकलाप गरेको भन्दै प्राइम टाइम्स टेलिभिजनका पत्रकार ऋषि धमलालाई हिजो स्पष्टीकरण सोधेको थियो ।