रामेछाप । जिल्लाको मन्थली नगरपालिकाले सञ्चालन गरेको निःशुल्क घुम्ती स्वास्थ्य सेवा शिविरबाट एक हजार २०० बढी नागरिकले सेवा लिएका छन् । मन्थली नगरपालिकाले नगरभित्रका दुर्गम क्षेत्रको पहिचान गरी अपाङ्गता भएका, बालबालिका, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित निःशुल्क घुम्ती स्वास्थ्य सेवा शिविर सञ्चालन गरेको हो । नगरपालिकाको वडा नं ४ सालु, वडानं ५ सुनारपानी, वडा नं ६ भलुवाजोर, वडा नं ७ भटौली, वडा नं ९ पुरानागाउँ, वडा नं १० चनखु र वडा नं ११ गेलुमा चिकित्सक सहितका स्वास्थ्य कर्मीको टोलीले निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक केशव फुयालले बताउनुभयो ।
रगत तथा पिसाब परीक्षण ल्याब सहितको निःशुल्क घुम्ती स्वास्थ्य सेवा शिविरबाट ७ वटा वडाका एक हजार २६१ जनाले सेवा लिएको स्वास्थ्य शाखा संयोजक फुयालले बताउनुभयो । शिविरमा ८९१ जनाको रगत र पिसाब जाँच गरिएको छ । अस्पतालसम्म सहज रूपमा आउन नसक्ने नागरिकका लागि नगरपालिकाले चैत १३ गतेदेखि १९ गतेसम्म निःशुल्क घुम्ती स्वास्थ्य सेवा शिविर सञ्चालन गरेको थियो ।
मन्थली नगरपालिकाले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १२ सय बढीले सेवा लिए
- प्रकाशित मिति: सोमबार, चैत्र २१ २०७८
- तामाकोशी