रामेछाप । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछापका एक लाख ७८ हजार ८६७ जना मतदाताले मतदान गर्न पाउँने भएका छन् । जसमा ९१ हजार १३१ जना पुरुष र ८७ हजार ७३६ जना महिला मतदाता रहेका छन् ।
निर्वाचन आयोगले आइतबार सार्वजनिक गरेको मतदाता नामावली अनुसार जिल्लाको मन्थली नगरपालिकाबाट सबैभन्दा धेरै ३७ हजार २२० र सबैभन्दा कम सुनापति गाउँपालिकाका १८ हजार ५१५ जनाले मतदान गर्नेछन् । यस्तै, जिल्लाको उमाकुण्ड गाउँपालिकाबाट १६ हजार २४६, खाँडादेवी गाउँपालिकामा २२ हजार ४००, गोकुलगङ्गा गाउँपापलिकाबाट १८ हजार ५२१ जनाले मतदान गर्ने छन् । त्यसैगरी दोरम्बा सैलुङ गाउँपालिकाबाट २० हजार ९३४, रामेछाप नगरपालिकाबाट २४ हजार ९३१ र लिखुतामाकोसी गाउँपालिकाबाट २० हजार १०० जना मतदाताले मतदान गर्नेछन् । निर्वाचन आयोगले चैत २९ गतेदेखि लागू हुने गरी रामेछापको दुई नगरपालिका र छ वटा गाउँपालिकामा निर्वाचन अधिकृत पनि तोकिसकेको छ ।
जिल्ला निर्वाचन कार्यालय रामेछापका अनुसार निर्वाचनका लागि जिल्लामा ९२ मतदान स्थल र २२३ मतदान केन्द्र तोकिएको छ । जिल्लाको उमाकुण्ड गाउँपालिकामा ११ मतदान स्थल, २२ वटा मतदान केन्द्र तोकिएको छ । त्यसैगरी खाँडादेवी गाउँपालिकामा १२ मतदान स्थल र २७ मतदान केन्द्र, गोकुलगंगा गाउँपालिकामा ६ मतदान स्थल र २० वटा मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ । त्यस्तै, दोरम्बा सैलुङ गाउँपालिकामा ११ मतदान स्थल र २७ मतदान केन्द्र, मन्थली नगरपालिकामा १९ मतदान स्थल र ४७ मतदान केन्द्र, रामेछाप नगरपालिकामा १४ मतदान स्थल र ३१ मतदान केन्द्र तोकिएको छ । त्यसैगरी लिखुतामाकोसी गाउँपालिकामा १० मतदान स्थल र २६ मतदान केन्द्र, सुनापति गाउँपालिकामा ९ मतदान स्थल र २३ मतदान केन्द्र तोकिएको छ ।
रामेछापमा एक लाख ७८ हजार ८६७ जना मतदाता (कुन पालिकामा कति?)
- प्रकाशित मिति: सोमबार, चैत्र १४ २०७८
- तामाकोशी