रजयछापका आगलागी पीडितलाई सांसद पौडेलले जस्तापाता र काँग्रेस सभापति तामाङले नगद सहयोग गर्ने

  • प्रकाशित मिति: आइतबार, चैत्र १३ २०७८
  • तामाकोशी

रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा नं ७ रजयछापमा आगलागी हुँदा ११ घर परिवारको घर गोठ जलेर नष्ट भएका छन् । शनिबार दिउँसो लागेको आगोले रजयछापका बिनोद श्रेष्ठको ढुङ्गा माटोले बनेको खरले छाएको एक तल्ले कच्ची घर र गोठ, हिमलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ, एकलाल श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको एक तले कच्चि घर र गोठ पुर्ण रुपमा जलि नष्ट भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक राजकुमार थिङले बताउनुभयो ।
यस्तै, दलबहादुर मगरको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ, धनबहादुर श्रेष्ठको ढुङ्गा माटो र जस्ताले छाएको एक तले कच्चि घर, तेजबहादुर श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ, चिरन्जिबि श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ पुर्ण रुपमा नष्ट भएको छ ।
यस्तै, ठेगबहादुर मगरको ढुङ्गा माटो र जस्ताले छाएको एक तले कच्चि घर र गोठ, ईश्वरलाल श्रेष्ठको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ , धनबहादुर मगरको ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ र शङ्कर श्रेष्ठ ढुङ्गा माटो र खरले छाएको एक तले कच्चि घर र गोठ पुर्ण रुपमा नष्ट भएको छ ।
यसैबिच रामेछाप प्रदेश १ बाट निर्वाचित वाग्मती प्रदेशका सांसद एवं नेकपा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले आगलागी पीडितलाई पार्टीको तर्फबाट पीडितलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले एमाले पार्टीको तर्फबाट पीडितलाई खाद्यान्न र प्रति घरलाई तीन÷तीन बण्डल जस्तापाता सहयोग गर्ने बताउनुभएको छ । यस्तै नेपाली काँग्रेस रामेछापका सभापति पूर्णबहादुर तामाङ(कान्छाराम) ले आर्थिक सहयोग गर्ने वताउनुभएको छ । सभापति तामाङले आगलागीबाट घर जलेर नष्ट भएका ११ घर परिवारलाई प्रति परिवार दश हजार रुपियाँका दरले एक लाख दश हजार रुपियाँ आर्थिक सहयोग गर्ने बताउनुभएको छ ।
आगलागी पीडितलाई रामेछाप नगरपालिकाले तत्कालका लागि आवश्यक पर्ने राहत उपलब्ध गराएको छ । नगर उपप्रमुख सृजना खड्काको नेतृत्वमा घटनास्थल पुगेको नगरको टोलीले पीडित परिवारलाई बास बस्नको लागि पाल, ओढ्ने आछ्याउने कपडा, खाद्यन्न, पानी, खाना पकाउने भाँडा लगायतका राहत सामाग्री उपलब्ध गराएको छ ।