माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको असर : तामाकोसी किनारमा लाश जलाउन समेत कठिनाइ

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ११ २०७८
  • तामाकोशी

रामेछाप । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले विद्युत् उत्पादनका लागि जलाशयको पानी खोल्दा तामाकोशीमा दिनहुँ अप्रत्याशित बाढी आउन थालेको छ । चालै नपाई नदीमा बाढी आउन थालेपछि किनारमा खेल्न जाने बालबालिका बग्ने त्रासले स्थानीय भयभीत हुन थालेका छन् । आयोजनाले नदीमा अप्रत्याशित रुपमा बाढी आउनेबारे सूचना सर्वसाधारणलाई दिने गरेको छैन । बाढीका कारण तामाकोसी किनारमा लाश जलाउनसमेत कठिनाइ हुन थालेको स्थानीय मनबहादुर कार्कीले बताउनुभयो ।
बढी बिजुली चाहिँदा माथिल्लो तामाकोशीले आफ्नो छुट्टै जलाशय खोल्ने गरेको छ । बिहान र बेलुका प्राधिकरणलाई बढी बिजुली आवश्यक पर्छ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार आयोजनाको जलाशयमा जम्मा भएको पानी विद्युत् उत्पादनका लागि खोल्दा जलाशय बढीमा ५ मिटरसम्मको पानी घट्ने गरेको छ । ५ मिटर जलाशयको पानी घट्नु भनेको तामाकोशीमा हुने जलप्रवाहमा पानीको मात्रा अस्वभाविक बढ्नु हो । माथिल्लो तामाकोशीले बढी बिजुली चाहिँदा आयोजनाको जलाशय खोल्ने गरेको छ । बिहान र बेलुका प्राधिकरणलाई बढी बिजुली आवश्यक पर्छ । त्यसबेला प्राधिकरणको भारप्रेषण केन्द्रको निर्देशन र मागबमोजिम जलाशयको पानी खोलेर बिजुली उत्पादन गर्ने गरेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा. न्यौपानेले बताउनुभयो । केन्द्रले ४ सय ५६ मेघावाट माग्दा जलाशयको पानी प्रयोग हुने भएकाले त्यसबेला तामाकोशीमा पानीको बहाव बढ्ने न्यौपानेले बताउनुभयो । समुद्री सतहबाट १ हजार ९ सय ८२ मिटरको उचाइमा रहेको आयोजनाको २२ मिटर लामो बाँधमा १ हजार ९ सय ८७ मिटर उचाइसम्म पानी जम्मा गर्ने गरिएको छ । संकटका बेला त्यहि पानी खोलेर उत्पादनलाई पूर्ण क्षमता दिइने गरिएको छ । आयोजनाभन्दा तल दोलखा र रामेछाप जिल्लाका नदी किनारमा बसोबास गर्ने सर्वसाधारण; माछा मार्ने, नुहाउन जाने र शव जलाउन जानेहरू बाढीका कारण प्रभावित हुन थालेको जानकारी आफूले पहिलो पटक पाएको न्यौपानेले बताउनुभयो । नदीमा आउन सक्ने बाढीका बारेमा सार्वजनिक सूचनासमेत जारी गर्नुपर्ने अवस्था देखिएको न्यौपानेले बताउनुभयो ।