घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गरे सरकारी गाडी फिर्ता

  • प्रकाशित मिति: शुक्रबार, चैत्र ११ २०७८
  • तामाकोशी

रामेछाप । सिन्धुलीको घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी गाउँपालिकालाई नै फिर्ता गरेका छन् । स्थानीय तहको चुनावको लागि आचार संहिता लागू हुनुअघि नै अध्यक्ष जगतबहादुर भोलन र उपाध्यक्ष दुर्गादेवी सुनुवारले गाडी फिर्ता गर्नुभएको हो । कार्यालय समयमै पुग्न सजिलो होस् भनेर मलाई नागरिकले विश्वास गरेर दिएको गाडीको साँचो घ्याङलेख गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत सरलाई जिम्मा लगाएको अध्यक्ष भोलनले बताउनुभयो । यस्तै उपाध्यक्ष सुनुवारले नागरिकले दिएको नासो नागरिकलाई नै फिर्ता गरेको बताउनुभयो । आफूले चुनाव प्रचार सुरु गरिसकेको र प्रचारको क्रममा सरकारी गाडी प्रयोग गर्दा पदको दुरुपयोग हुने ठानेर गाडी फिर्ता गरेको अध्यक्ष भोलनको भनाइ छ । घ्याङलेख गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित हुनुभएको हो । प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्कीले अध्यक्ष र उपाध्यक्षले चुनावको आचारसंहिता लागू हुनु अगावै आफूहरुले प्रयोग गर्दै आउनुभएको गाडीको साँचो गाउँपालिकालाई जिम्मा लगाएर सराहनीय काम परेको बताउनुभयो ।