अहिले एमालेकै नीतिमा देश र राष्ट्रिय राजनीति केन्द्रित छ : अध्यक्ष आनन्द श्रेष्ठ

  • प्रकाशित मिति: मंगलबार, चैत्र ८ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेर पार्टीले अभियान चलाईरहेको भन्दै टोल टोल र घर घरमा पुगेर अभियानलाई सार्थक बनाउन नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । नेकपा एमाले गोकुलगङ्गा गाउँपालिका कमिटी र अखिल नेपाल महिला संघ गाउँपालिका कमिटीको आयोजनामा मंगलबार भएको अगुवा महिला कार्यकर्ता भेलामा अध्यक्ष श्रेष्ठले यस्तो बताउनुभएको हो । उहाँले ‘म जिताउँछु मेरो वडा, हामी जिताउँछौँ हाम्रो पालिका’ अभियान स्थानीय चुनावका लागि जिल्ला कमिटीले सुरु गरेको २ महिने विशेष अभियान भएको जानकारी गराउँदै नेता र कार्यकर्तालाई आराम गरेर बस्ने फुर्सद नरहेको बताउनुभयो । अध्यक्ष श्रेष्ठले स्थानीय तहको निर्वाचनका लागि पार्टी केन्द्रले उम्मेदवार चयनको मापदण्डसमेत बनाईसकेकाले स्थानीय जनप्रतिनिधिका रुपमा महिलाहरुको उल्लेख्य सहभागीता एमालेको नीति नै रहेको बताउनुभयो । उहाँले एमालेकै नीतिमा अहिले देश र राष्ट्रिय राजनीति केन्द्रित रहेको पनि दाबी गर्नुभयो । एमाले गोकुलगङ्गा गाउँपालिका कमिटीका अध्यक्ष दिपक कार्कीको अध्यक्षता अखिल नेपाल महिला संघकी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज एवं एमाले बागमती प्रदेश कमिटीकी सदस्य माया कुमारी कार्कीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्यहरु बुद्धि बहादुर कार्की, गाउँपालिका अध्यक्षसमेत रहेका खड्ग बहादुर सुनुवार, जिल्ला कमिटी उपसचिव प्रकाश कुमार कार्की लगायतले बोल्नुभएको थियो ।