रामेछापमा घरभित्र छिरेको आरोपमा दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना

  • प्रकाशित मिति: मंगलबार, चैत्र १ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरमा एक दलित बालिकालाई २१ घण्टासम्म बाँधेर यातना दिइएको छ । गैरदलित समुदायको घर भित्र छिरेको निहुँमा स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय बालिका सरिता नेपालीलाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिइएको हो । दलित भएर घरभित्र छिरेको भन्दै छिमेकी ६३ वर्षका शेरबहादुर श्रेष्ठले नेपालीलाई हात र कम्मरमा नाम्लोले बाँधेर घरको दलिनमा चार घण्टासम्म झुन्ड्याएको पीडित बालिकाले बताउनुभयो । त्यस पछि १७ घण्टा घरको थाममा बाँधेर सिस्नो लगाई कुटपिट गरिएको पीडितको आरोप छ । बालिकालाई सोमबार अपराह्न चार बजेदेखि मंगलबार मध्यान्न १२ बजेसम्म नियन्त्रणमा लिई बाँधेर यातना दिइएको थियो । दलित समुदायको भएर घर भित्र पसी दही चोरेर खाएकोले बाँधेर राखेको पीडक शेरबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले आफ्नो घरमा रुद्री लगाउने खर्च व्यहोर्नु पर्ने माग राख्नु भएको छ ।
बालिकालाई बाँधेर राखेको थाहा पाएपछि यातना नदिन र तत्काल छोड्न आग्रह गर्दा नमानेको वडा सदस्य भक्तमाया श्रेष्ठले बताउनुभयो । श्रेष्ठ दम्पतीले बालिकालाई बाँधेर लगातार कुटपिट गरेको उहाँले बताउनुभयो । बालिकालाई बाँधेर लगातार कुटपिट गरेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । मंगलबार मध्यान्ह १२ बजे प्रहरी पुगेर पीडित बालिकाको उद्दार गरेको छ । प्रहरी पुगेर बालिकालाई बन्धनबाट फुकाएर बन्धनमुक्त गराएको हो । पीडक शेरबहादुर श्रेष्ठलाई मंगलबार नै प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण गरी आवश्यक भए उपचारमा पठाउने र नभए परिवारको जिम्मा लगाएर पीडक माथि कारबाहीको प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार थिङ्ले बताउनुभयो ।