रामेछापको एमाले उमाकुण्ड गाउँ पार्टी कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १४ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछाप उमाकुण्ड गाउँपालिका पार्टी कमिटीको विस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रम शनिबार प्रीतिमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय सदस्य माधव ढुङ्गेलको प्रमुख आतिथ्यता तथा गाउँ पार्टी अध्यक्ष रुद्रमणि नेवारको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै ढुंगेलले एमाले लोकतन्त्र, विकास र अग्रगमनको पर्याय भएको बताउनुभयो । पाँच दलीय गठबन्धनले देशलाई गम्भीर संकटमा पु¥याएको उहाँले बताउनुभयो । अब एमालेको विकल्प अरू हुनै नसक्ने ढुङ्गेलको भनाइ छ । कार्यक्रममा एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले स्थानीय सरकार सबैभन्दा महत्त्वपूर्ण सरकार भएकोले एमालेले वडा र पालिकाको चुनाव जित्नै पर्ने बताउनुभयो । एमाले वाग्मती प्रदेश सदस्य रत्न गौतमले जनताको समस्या समाधानका लागि एमालेका नेता देखि कार्यकर्ता लाग्नु पर्ने बताउनुभयो । जनताका समस्या जहाँ छन् त्यहीँबाट समाधान खोज्ने र नसके माथिल्लो निकायबाट समेत सहयोग लिनु पर्नेमा उहाँले जोड दिनुभयो । उहाँले एमाले जनताको पार्टी भएकोले जनताकै बिचमा रहेर काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेश सदस्य चित्रबहादुर कार्कीले एमालेले नेतृत्व गरेका ठाउँमा विकासका उल्लेख्य काम भएको बताउनुभयो ।
प्रदेश सदस्य कुमार कार्कीले एमालेले गरेको विकासका काम गठबन्धन आएर रोकिएको बताउनुभयो । अहिले गठबन्धनका दललाई सत्ताको मात लागेको कार्कीको भनाइ छ । वाग्मती प्रदेश सदस्य दीपशिखा दाहालले पाँच वर्ष भित्र स्थानीय सरकारले गरेका काम लिएर स्थानीय तह निर्वाचनमा जानु पर्ने बताउनुभयो । देशमा तलसम्म विकासका काम एमालेले गरेको कुरा जनतालाई बुझाउनु पर्ने उहाँको भनाइ छ । पार्टी सचिव पुरुषोत्तम कडरियाले देश राम्रो बनाउन एमालेले जित्नु पर्ने बताउनुभयो । एमालेले जित्न त्यसका कार्यकर्ता राम्रा हुनुपर्नेमा उहाँले जोड दिनुभयो । पार्टी उपसचिव प्रकाश कार्कीले पार्टीलाई व्यवस्थित गर्न विधि मान्यता स्थापना गरिएको बताउनुभयो । पार्टी मुख्य कुरा भएकोले पार्टीलाई जोगाउन र जिताउन सबै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । पालिकाको पार्टीको अवस्था समीक्षा गरी आगामी योजना बनाउन बैठक तथा प्रशिक्षण कार्यक्रम आयोजना गरेको गाउँ पार्टी अध्यक्ष रुद्रमणि नेवारले बताउनुभयो । उहाँले तालिम पछि नेता कार्यकर्तामा ऊर्जा बढेको बताउँदै अब निर्वाचन केन्द्रित कार्यक्रममा लाग्नु पर्नेमा जोड दिनुभयो ।