रामेछाप । नेकपा एमाले रामेछाप मन्थली नगरकमिटीको विस्तारित बैठक तथा अभिमुखिकरण कार्याक्रम बिहीबार मन्थलीमा सम्पन्न भएको छ । मन्थली नगर पार्टी अध्यक्ष रामबाबु घिमिरेको अध्यक्षता तथा एमाले केन्द्रीय सदस्य एवं रामेछाप जिल्ला इञ्चार्ज कैलाशप्रसाद ढुंगेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य माधव ढुंगेल, गीता कार्की, वाग्मती प्रदेश कमिटी सचिवालय सदस्य शान्तिप्रसाद पौडेल, रत्न गौतम, जिल्ला अध्यक्ष आनन्द श्रेष्ठ लगायतका नेताको सहभागिता रहेको थियो । कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेलले जनताको तागतका अघि कुनै पनि तागत टिक्न नसक्ने बताउनुभयो । एमाले जनताको तागत भएकोले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको जित सुनिश्चित भएको उहाँले दाबी गर्नुभयो । एमाले वाग्मती प्रदेश सचिवालय सदस्य शान्तिप्रसाद पौडेलले देश संकटमा फस्दै गएकोले त्यसबाट जोगाउनको लागि पनि एमालेले चुनाव जित्नु पर्ने बताउनुभयो । नेकपा एमालेका वाग्मती प्रदेश सदस्य रत्न गौतमले नेकपा एमाले नेपालका राजनीतिक दलको नेता दल भएको बताउनुभयो । त्यसैले जनताको लागि एमालेले काम गर्नु पर्ने बताउनुभयो । एमालेले पनि केही नगर्ने हो भने जनता भोकभोकै मर्ने दिन आउने उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले नागरिकका समस्या बुझ्नको लागि जिल्लामा पार्टीले जनमत सर्वेक्षण गर्न लागेको बताउनुभयो । यसका लागि पार्टीले दुई महिने अभियान घोषणा गरिएको उहाँले बताउनुभयो । उहाँले एमालेका कार्यकर्ता र शुभचिन्तक अरु भन्दा फरक हुनुपर्ने बताउनुभयो । बैठकले निर्वाचन लक्षित पार्टी परिचालनका कार्यक्रम तय गरेको छ ।
नेकपा एमाले मन्थली नगरकमिटीको विस्तारित बैठक तथा अभिमुखकिरण कार्यक्रम सम्पन्न
- प्रकाशित मिति: बिहिबार, फाल्गुन १२ २०७८
- तामाकोशी