प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा उमाकुण्ड गाउँपालिकाको सेवा प्रवाहमा समस्या

  • प्रकाशित मिति: सोमबार, फाल्गुन ९ २०७८
  • तामाकोशी

रामेछाप । प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा जिल्लाको उमाकुण्ड गाउँपालिकालाई नियमित सेवा प्रवाह गर्न समस्या भएको छ । स्वास्थ्य शाखा प्रमुखलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर काम गर्दै आएको पालिकामा स्वास्थ्य शाखा प्रमुखको पनि जिम्मेवारी खोसिएपछि प्रमुख प्रशासकीय अधिकृत विहीन भएको हो ।
सो गाउँपालिकाका लेखापाल पनि अन्यत्र सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत विहीन भएको छ । दुवै प्रमुख जिम्मेवार कर्मचारी नभएपछि सो गाउँपालिकाले छिमेकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतको सहायता लियर काम गरिरहेको छ ।
छिमेकी गोकुलगङ्गाका गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद सुवेदी र लेखा अधिकृत राजनप्रसाद गुरागाईले उमाकुण्ड गाउँपालिकाको समेत जिम्मेवारी लिनुभएको छ । उहाँहरूले दुई वटा पालिकाको काम गरिरहनुभएको छ । लामो समयदेखि उमाकुण्ड गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको दर्वन्दि खाली रहेको छ ।
गाउँपालिकाका योजना सम्झौता, भुक्तानी लगायतका कामको चाप हुने बेलामा दुई महत्त्वपूर्ण कर्मचारी नहुँदा सो पालिकाले प्रवाह गर्ने सेवा प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत पठाइदिन बारम्बार मन्त्रालयमा भनेको भए पनि हालसम्म नपठाएको गाउँपालिका अध्यक्ष शेरबहादुर सुनुवारले बताउनुभयो ।
प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत नहुँदा नियमित सेवा प्रवाहमा समस्या भएको छ, यसबारेमा सम्बन्धीत ठाउँमा जानकारी गराएको पनि लामो समय भैसक्यो, तर अहिलेसम्म प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत पठाएको छैन उहाँले भन्नुभयो ।