रामेछाप । जिल्लाका विभिन्न स्थानीय तहका ४३ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छानिएका छन् । सरकारले सामुदायिक विद्यालयको स्तरोन्नति गर्न र गुणस्तरीय शिक्षाका लागि नवीन प्रविधि लगायत प्राथमिकताका आधारमा भवन, बालविकास केन्द्र निर्माण, तला थप, ट्रस्ट बिल्डिङ, भवन रेट्रोफिटिङ, शौचालय निर्माण लगायतमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम मार्फत बजेट विनियोजन गर्ने गरेको छ ।
त्यसैगरी सामुदायिक विद्यालयमा खानेपानी तथा सरसफाइ सुविधा, सिकाइ सामग्री, शैक्षिक सामग्री, कम्प्युटर व्यवस्था, विज्ञान प्रयोगशाला, सोलार प्यानल, इन्टरनेट व्यवस्था, अन्तरक्रियात्मक बोर्ड, स्मार्टबोर्ड, प्रोजेक्टर, अनलाइन अफलाइन सामग्रीको विकास लगायतमा बजेट विनियोजन गर्दै आएको छ ।
यो वर्ष जिल्लाको मन्थली नगरपालिकाबाट ९ वटा, रामेछाप नगरपालिकाबाट ५ वटा, खाँडादेवी गाउँपालिकाबाट ३ वटा, सुनापती गाउँपालिबाट ९ वटा सामुदायिक विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका छनोट भएको शिक्षा समन्वय इकाई रामेछापमा प्रमुख भरत भट्टराईले बताउनुभयो ।
उहाँका अनुसार लिखुतामाकोसी गाउँपालिकाबाट ५ वटा,दोरम्बा सैलुङ गाउँपालिकाबाट ३ वटा, गोकुलगङ्गा गाउँपालिकाबाट ४ वटा र उमाकुण्ड गाउँपालिकाबाट ५ वटा विद्यालय राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका छन् ।
जिल्लाबाट सबैभन्दा धेरै मन्थली नगरपालिका र सुनापती गाउँपालिकाबाट ९÷९ वटा विद्यालय छनोटमा परेका छन्, सबैभन्दा कम खाँडादेवी र दोरम्बा सैलुङ गाउँपालिकाबाट ३÷३ वटा विद्यालय मात्रै छनोटमा परेका छन् शिक्षा समन्वय इकाई रामेछापमा भट्टराईले भन्नुभयो ।