निर्वाचन आचारसंहिता कार्यान्वयनमा चुनौती रहेको रामेछापका सरोकारवालाको प्रतिक्रिया

  • प्रकाशित मिति: मंगलबार, फाल्गुन ३ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापका सरोकारवालाहरुले निर्वाचन आचारसंहित कार्यान्वयनमा चुनौती रहेको प्रतिक्रिया दिएका छन् । मंगलबार जिल्ला निर्वाचन कार्यालय रामेछापले छैटौँ निर्वाचन दिवसका अवसरमा मन्थलीमा आयोजना गरेको निर्वाचन सञ्चालन तथा व्यवस्थापनमा सरोकारवालाको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रममा सहभागिहरुले यस्तो प्रतिक्रिया दिएका हुन् । कार्यक्रमका सहभागिहरुले निर्वाचन आचारसंहिताहरु देख्दा र पढ्दा राम्रो र कडा जस्तो देखिए पनि कार्यान्वयनको पाटो फितलो रहेको बताएका हुन् । कार्यक्रममा नेकपा माओवादी केन्द्र रामेछापका नेता दीपक प्रसाइले निर्वाचनलाई स्वच्छ नबनाए नेतहरु भ्रष्ट हुने भएकाले राजनीतिक दलहरु गम्भीर भएर लाग्नुपर्ने बताउनुभयो ।
नेकपा एमाले रामेछापका अध्यक्ष आनन्दकुमार श्रेष्ठले लोकतन्त्रमा विश्वास राख्ने राजनीतिक दलहरुका लागि निर्वाचन महत्वपूर्ण भएकाले निर्वाचनलाई व्यवस्थित बनाउन सवै निकाय तथा व्यक्ति नैतिक आचरणमा रहनुपर्नेमा जोड दिनुभयो । विगतमा भएका निर्वाचनलाई लिएर विभिन्न राजनीतिक दलहरुभित्र निर्वाचन आचारण र खर्च कम गर्ने बारेमा छलफल भैरहेको उहाँको भनाइ छ । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले निर्वाचन आचारसंहिताबा बारेमा स्थानीय सरकार सचेत रहेको बताउनुभयो । अहिले राजनीतिक दलहरुमा पहिला जस्तो किन्ने गरी जनतामा जानुहुन्न भन्ने चेतना भएकाले अबको निर्वाचनमा खर्च कम हुने उहाँको विश्वास छ ।
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले पछिल्लो समय सम्पन्न भएका निर्वाचनहरु सव्य ढंगले सम्पन्न हुने गरेको बताउनुभयो । निर्वाचन सव्य हुँदै गएपनि पैसा भएकालाई मात्रै टिकेट दिने परिपाटी राजनीतिक दलहरुमा विकास भएकाले निर्वाचनमा हुने खर्च कटौतीका लागि यस्ता परिपाटीको अन्त्य गर्नुपर्नेमा उहाँको जोड छ । कार्यक्रममा जिल्ला निर्वाचन अधिकारी मधुकरकुमार साहले स्थानीय तह निर्वाचन २०७९ सम्बन्धी निर्वाचन आयोगको गतिविधि, रामेछापको मतदाता विवरण अनि निर्वाचन आचारसंहिताका बारेमा सहभागिहरुलाई जानकारी गराउनुभएको थियो । कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीको अध्यक्षतामा भएको हो ।