एमाले रामेछापको स्थानीय तह निर्वाचन लक्षित प्रशिक्षण कार्यक्रम मन्थलीमा सुरु

  • प्रकाशित मिति: आइतबार, फाल्गुन १ २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापले स्थानीय निर्वाचनलाई लक्षित गरी प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । नेकपा एमाले जिल्ला कमिटी रामेछापको दोस्रो पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रम आइतबारबाट मन्थलीमा सुरु भएको छ । दुई दिनसम्म चल्ने बैठक र प्रशिक्षण कार्यक्रमले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि रणनीति तयार गर्ने छ । प्रशिक्षण कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले नेपालको कम्युनिष्ट आन्दोलन र नेकपा एमालेको कार्यभारको विषयमा प्रशिक्षण दिनुहुने छ । त्यस्तै पार्टी पोलिटब्युरो सदस्य आनन्द पोखरेलले स्थानीय तह निर्वाचन र परिचालनको विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । अर्का केन्द्रीय नेता माधव ढुंगेलले पार्टी र जनसंगठन बिचको अन्तरसम्बन्धको बारेमा प्रशिक्षण दिने नेकपा एमाले रामेछापका सचिव पुरुषोत्तम कँडरियाले जानकारी दिनुभयो ।
यसै गरी राजन भट्टराईले अन्तर्राष्ट्रिय सम्बन्ध र एमाले सरकारको उपलब्धि र अनुभवका विषयमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । पार्टीका पोलिटब्युरो सदस्य कमल चौलागाईँले स्वाधीन अर्थतन्त्र निर्माणमा एमालेको दृष्टिकोणका विषयमा प्रशिक्षण दिनुहुने कार्यक्रम रहेको छ । केन्द्रीय सदस्य कैलाशप्रसाद ढुंगेलले मार्क्सवाद, लेनिनवाद र जनताको बहुदलीय जनवादको बारेमा प्रशिक्षण दिनुहुने छ भने प्रदेश सदस्य शान्तिप्रसाद पौडेलले संगठन परिचालन, व्यवस्थापन र बैठक सञ्चालनको बारेमा प्रशिक्षण दिनुहुने भएको छ । बैठक तथा प्रशिक्षण कार्यक्रम बोल्दै नेकपा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले आउने स्थानीय तह निर्वाचन रामेछापका सबै पालिका र वडामा जित्नै पर्ने भएकाले अब पार्टीका कुनै पनि नेता, कार्यकर्तालाई आराम लिने छुट नभएको बताउनुभयो । अधिवेशन हुँदा पद खोज्ने र पद प्राप्त गरेपछि निस्कृय हुने कुनै पनि व्यक्ति कम्युनिष्ट हुन नसक्ने उहाँले बताउनुभयो ।