रामेछापमा कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दै, झण्डै ९८ हजारले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाए

  • प्रकाशित मिति: आइतबार, माघ २३ २०७८
  • तामाकोशी

रामेछाप । देशभर जस्तै रामेछापमा पनि कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढ्दो दरमा रहेको छ । जिल्लामा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि हालसम्म ४१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यसमध्येबाट हालसम्म २९४ जना कोरोना सङ्क्रमणमुक्त भैसकेको र अहिले जिल्लामा १२० जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत भुवन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले जिल्लाको मन्थली नगरपालिकामा १३, रामेछाप नगरपालिकामा ३४, उमाकुण्ड गाउँपालिकामा १०, खाँडादेवी गाउँपालिकामा १५, गोकुलगङ्गा गाउँपालिकामा ६, लिखुतामाकोसी गाउँपालिकामा २१, दोरम्बा सैलुङ गाउँपालिकामा १ र सुनापति गाउँपालिकामा ११ जना गरी १११ जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । त्यसैगरी जिल्ला अस्पतालमा ६, उमाकुण्ड गाउँपालिकामा २ र लिखुतामाकोसी गाउँपालिकामा १ जना गरी ९ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् ।
यसैबिच जिल्लाका झण्डै ९८ हजार नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएका छन् । स्वास्थ्य कार्यालय रामेछापका जनस्वास्थ्य अधिकृत थापाले हालसम्म जिल्लाका ९७ हजार ९२८ जना नागरिकले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाएको र एक लाख सात हजार २२८ जनाले कोरोना विरुद्धको पहिलोमात्रा खोप लगाएको बताउनुभयो ।