रामेछापमा आज थप ३५ जनामा कोरोना सङ्क्रमण 

  • प्रकाशित मिति: बिहिबार, माघ ६ २०७८
  • तामाकोशी

रामेछाप । रामेछापमा विहीबार ३५ जना कोरोना सङ्क्रमित थपिएका छन् भने १३ जना सङ्क्रमणमुक्त भएका छन् । विहीबार थपिएका सहित अहिले जिल्लामा १४८ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो तथ्याङ्क नेपालमा कोरोना भाइरस कोभिड–१९ को तेस्रो लहर सुरुभएपछि पुस २४ गते यता विहीबारसम्मको हो । स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत भुवन थापाले विहीबार ४२ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको बताउनुभयो । उहाँका अनुसार अहिले मन्थली नगरपालिकामा ५३ जना, रामेछाप नगरपालिकामा २४ जना, उमाकुण्ड गाउँपालिकामा ७ जना, खाँडादेवी गाउँपालिकामा २६ जना, गोकुलगङ्गा गाउँपालिकामा १३ जना, लिखुतामाकोसी गाउँपालिकामा ९ जना, दोरम्बा सैलुङ गाउँपालिकामा एक जना र सुनापति गाउँपालिकामा ७ जना गरी १४० जना सक्रिय सङ्क्रमित होम आइसोलेशनमा छन् । त्यसैगरी जिल्ला अस्पतालमा तीन जना, गोकुलगङ्गा गाउँपालिकामा एक जना, लिखुतामाकोसी गाउँपालिकामा तीन जना र सुनापति गाउँपालिकामा एक जना गरी ८ जना सक्रिय सङ्क्रमित संस्थागत आइसोलेशनमा बसेका छन् । यस्तै विहीबार मन्थली नगरपालिकाबाट चार जना, रामेछाप नगरपालिकाबाट तीन जना, उमाकुण्ड गाउँपालिकाबाट दुई जना, गोकुलगङ्गा गाउँपालिकाबाट तीन जना र लिखुतामाकाशी गाउँपालिकाबाट एक जना गरी १३ जना कोरोना सङ्क्रमणमुक्त भएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो । जनस्वास्थ्य अधिकृत थापाका अनुसार जिल्लामा अहिलेसम्म एक लाख ११ हजार ९२९ जनाले कोरोना विरुद्धको पहिलोमात्राको खोप लगाएका छन् भने ६२ हजार ४६९ जनाले कोरोना विरुद्धको दोस्रोमात्रा खोप लगाइसकेका छन् ।