रामेछाप । कोरोना भाइरस कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि रामेछापमा कडाइ गरिएको छ । जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बुधबार बसेको बैठकले बुधबार मध्यरातदेखि जिल्लामा हुने सबै खालका भेला, सभा, सम्मेलनलाई रोक लगाएको छ । जिल्लामा अत्यावश्यक बाहेकका सबै बैठकमा समेत रोक लगाइएको छ । अत्यावश्यक भएमा स्थानीय प्रशासनसँग अनुमति लिएर स्वास्थ्य मापदण्डको प्रयोग गरी २५ जनासम्म जम्मा भएर बैठक गर्न सकिने रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा सार्वजनिक सेवा लिन आउनेलाई कोभिड विरुद्धको खोप कार्ड अनिवार्य गरिएको छ भने आगामी माघ ७ गतेबाट सार्वजनिक सेवा लिन जाँदा खोप कार्ड अनिवार्य लैजानुपर्ने व्यवस्था गरिएको छ । विद्यालयमा भौतिक उपस्थितिमा हुने पठन पाठनमा रोक लगाइएको छ । पूर्वनिर्धारित सेमेस्टर परीक्षा भने स्वास्थ्य मापदण्डको प्रयोग गरी सञ्चालन गर्न दिइने प्रमुख जिल्ला अधिकारी पहाडीले बताउनुभयो । तर जिल्लाको खाँडादेवी गाउँपालिकाले भने विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्ने भएको छ । विद्यालय बन्द गर्दा भन्दा विद्यालय खोल्दा विद्यार्थीहरुमा कोरोना सङ्क्रमण हुनसक्ने जोखिमता कम हुनेभएकाले गाउँपालिकाका सवै विद्यालयहरुमा सरकारले जारी गरेको स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रुपमा पालना गरी नियमित पठनपाठन हुने गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले बताउनुभयो । खाँडादेवी गाउँपालिकामा ५१ समुदायिक र एउटा संस्थागत विद्यालय सञ्चालनमा छन् ।
रामेछापमा २५ जना बढी भेला हुन रोक
- प्रकाशित मिति: बिहिबार, पुष २९ २०७८
- तामाकोशी