एमाले रामेछापको अधिवेशनमा ६९३ प्रतिनिधि सहभागी हुने

  • प्रकाशित मिति: मंगलबार, पुष २० २०७८
  • तामाकोशी

रामेछाप । नेकपा एमाले रामेछापको आठौँ अधिवेशनमा कुल ६९३ प्रतिनिधि सहभागी हुने भएका छन् । ८ स्थानीय तह, जनसंगठन, आयोजक कमिटी तथा पालिका कमिटीबाट गरी कुल ६९३ जना प्रतिनिधि सहभागी हुने भएका हुन् । दुई नगरपालिका र छ वटा गाउँपालिका मध्ये मन्थली नगरपालिकाबाट सबैभन्दा धेरै प्रतिनिधि सहभागी हुने एमाले रामेछापले जनाएको छ । मन्थली नगरपालिकाबाट ९० जना प्रतिनिधि सहभागी हुने एमाले रामेछापका सचिव आनन्द श्रेष्ठले बताउनुभयो ।
उहाँका अनुसार खाँडादेवी गाउँपालिकाबाट ८९ जना, दोरम्बा गाउँपालिकाबाट ६० जना, लिखु तामाकोशी गाउँपालिकाबाट ५० जना, रामेछाप नगरपालिकाबाट ४८ जना प्रतिनिधि सहभागि हुनेछन् । सुनापति गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका र उमाकुण्ड गाउँपालिकाबाट समान ४१÷४१ जना प्रतिनिधि सहभगि हुनेछन् । पार्टी निकट जनसंगठनबाट पनि प्रतिनिधि टुंगो लागेको एमाले रामेछापले जनाएको छ । जनसंगठन र सल्लाहकार कमिटीबाट ११२ जना प्रतिनिधि छनोट भएका छन् । त्यस्तै आयोजक कमिटीबाट ८१ जना र ८ वटै पालिकाको पालिका कमिटीबाट कुल ४० प्रतिनिधि छनोट भएका छन् ।